एजेन्सी ।
गैरआवासीय नेपाली सङ्घ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घटना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ। अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाएका छन्।
लन्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली सङ्घ संस्थाहरूलाई आ-आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो। एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान, हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न, विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचना मार्फत सूचित रहन सुझाएको छ।
त्यसैसरि, सङ्घले जोखिम न्यूनीकरणका लागि कुनै पनि प्रदर्शन वा दङ्गामा भाग नलिन पनि सल्लाह दिएको छ। कुनै पनि हिंसा वा भेदभावका घटना भए प्रहरी वा स्थानीय नेपाली सङ्गठनलाई सूचित गर्न पनि एनआरएनए यूकेको आग्रह छ।
सङ्घले बेलायतमा रहेका सबै नेपाली संस्थालाई आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्न पनि आग्रह गरेको छ। केही समस्या परे स्थानीय अधिकारीहरू र नेपाली दूतावासलाई सम्पर्क गरी सहयोग लिन उसको सुझाव छ। अहिलेको चुनौतीपूर्ण समयमा सुरक्षा र एकतालाई प्राथमिकता दिने उल्लेख गर्दै केही समस्या भए आफ्नो संस्थामा सम्पर्क गर्न पनि अध्यक्ष गाहामगरले अनुरोध गरेका छन्।
प्रतिक्रिया