मनसुन शुरू भएयता १६५ को मृत्यु, साउन २४ सम्म सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर
210
Shares

काठमाडौं ।

मनसुन शुरू भएयता (जेठ २८–साउन २२) को अवधिका १ सय ६५ जनाको ज्यान लिएको छ। बाढी पहिरो र चट्याङसहितको विपद्जन्य घटनाको जोखिम अझै कायमै छ। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी चार सय घर डुबानमा परेका छन् भने ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका हुन्।

सोमबार रातीदेखि परेको मुलधारे पानीले काठमाडौं उपत्यका र आसपासका नदीहरू आफ्नो सतह छाडेर सडक र बस्तीमा पसेका छन्। मंगलबार दिनभर नै काठमाडौं, ललितपुर र भक्तपुरका नदीले सडक तथा बस्तीमा पसेर ठूलो क्षति पुर्‍याएको छ। नदी किनारका मानव बस्तीहरू पूर्ण डुबानमा परे भने सडक यातायातसमेत राम्रोसँग सञ्चालन हुन सकेनन्।

जल तथा मौसम विज्ञान विभागले साउन २४ सम्म वर्षा नरोकिने र बाढी पहिरोको खतरा रहेको भन्दै सुरक्षित रहन चेतावनी दिएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ रहेको विभागले जनाएको छ। विभागले विज्ञप्ति जारी गर्दै साउन २३ र २४ गते सम्म मेघ गर्जन/चट्याङसहित उच्च वर्षाको सम्भावना रहेको बताएको छ।

वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै सबैले आ–आफ्नो बसोबास क्षेत्र र हिँडडुल गर्दा सचेतना अपनाउन भनेको छ। ‘वर्षाका कारण कोशीमा बढ्ने बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागका प्रवक्ता शुनिल पोखरेलले आग्रह गर्नुभएको छ।

त्यस्तै, देशभर विपद्जन्य घटनाबाट १ सय ९८ जना घाइते छन् भने विपद्मा परेका १ सय १० जनाको उद्धार गरिएको छ । यो अवधिमा ५१ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बाढीको कारण ३ सय ८४ घर डुबानमा परेका छन् भने २ सय ६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यस्तै, ७ सय ५० वटा पशु चौपायाको मृत्यु भएको र यस अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका छन् ।