पहिरो खसेपछि बेनी–दरबाङ सडक अवरुद्ध

294
Shares

म्याग्दी।

गए रातिदेखि परिरहेको निरन्तरको वर्षासँगै पहिरो खसेर म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । वर्षासँगै सडकभन्दा माथिबाट पहिरो खसेपछि मङ्गलवार बिहानैदेखि बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२, सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए । सडक अवरुद्ध बनेपछि बेनी–दरबाङ सडकमा सीधा यातायात सेवा बन्द भएको उनले जानकारी दिए ।

पहिरोका कारण सडक बन्द भएपछि सर्वसाधारण, बिरामी, कर्मचारी तथा यात्रुलाई आवतजावत गर्न कठिनाई भैरहेको छ । पहिरोका कारण सीधा यातायात सेवा प्रभावित भएपछि बेनीबाट छुटेका सवारीसाधन तातोपानीको मसार क्षेत्र र दरबाङबाट छुटेका सवारीसाधन सिमलचौरमा रोकिएका छन् । पहिरो खसेर यातायात सेवा प्रभावित भएको बेनी–दरबाङ सडकमा पहिरोको अवरोध हटाउने प्रयास भने भैरहेको प्रहरीले जनाएको छ ।

तर अहिले पनि सडकभन्दा माथिबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । पहिरोले यातायात सेवा बन्द भएपछि म्याग्दी नदीमाथिको पक्की पुल तरेर सर्वसाधारण तथा यात्रुले घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता झेलिरहेका छन् ।

बेनी–दरबाङ सडक म्याग्दीको लाइफलाइन मानिन्छ । यसले पश्चिमी क्षेत्रको मंगला–मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने काम गर्छ । रणनीतिक महत्वको बेनी–दरबाङ सडक पश्चिम म्याग्दी भेग भएर जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमलाई जोड्ने गरी यसको निर्माणकार्य अगाडि बढाइएको छ ।