‘भारतलाई रिझाउन जे पनि ‘हुन्छ’ भन्ने गरेको कारण विश्वास गुमाउँदै’


काठमाडौँ।

हाम्रा प्रमुख राजनीतिक दलका शीर्ष नेता एवं प्रधानमन्त्रीहरुले भारतलाई रिझाउन जे पनि ‘हुन्छ’ भन्ने गरेको कारण भारतको विश्वास गुमाउँदै गएको तीन पटक परराष्ट्रमन्त्री भैसकेका कमल थापाले बताए ।

परराष्ट्रमन्त्रीको रुपमा आफूले देखेको, बुझेको र भोगेको घटनाक्रमहरुलाई समेटेर लेखेको पुस्तक ‘नाकाबन्दी र भूराजनीति ः कूटनीतिमा मेरो अनुभव र अनुभुति’ को विषयमा सोमबार परराष्ट्र मामिला रिपोटिङ गर्ने पत्रकारहरुसँग अन्तक्र्रिया गर्ने क्रममा पूर्व परराष्ट्रमन्त्री थापाले उक्त कुरा बताएका हुन् । 

उनले भने– ‘वि.सं. २०७२ सालको नाकाबन्दी खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग वान–टु–वान भेट गर्दा उहाँले तपाईँको नेताहरुले यहाँ आएर एउटा कुरा गर्ने, प्रतिबद्धता व्यक्त गर्ने अनि काठमाडौँ फर्केर अर्को कुरा गर्ने अनि कसरी विश्वास गर्ने भनेर रिसाउनुभएको थियो । पछि मैले नेपाल फर्किएपछि त्यस्तो कुन प्रतिबद्धता हो भनेर सर्वदलीय बैठकमा कुरा राखेँ । शेरबहादुर देउवाजी र पुष्पकमल दाहालजी आफैंले पोल खोल्नुभयो । उहाँहरुले मोदी जीले भने जसरी धर्मनिरपेक्ष नराख्न कसरी राख्न सकिन्छ भन्नुभयो ।’

भारतले पछिल्लो पटक नेपालले नयाँ संविधान जारी गरेपछि नाकाबन्दी लगाएको थियो । त्यतिबेला उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका थापाले भने– ‘सबैले नयाँ संविधानमा भएको असहमतिका कारण भारतले नाकाबन्दी लगाएको भने । तर मेरो बिचारमा त्यसमा अर्को पक्ष पनि छ – ‘नेपाल र भारतबीच भूरापजनीति, सुरक्षा एवं सामरिक मामिलामा अवधारणागत भिन्नता रहेकोले पनि त्यस्तो अवस्था आएको हो ।’ उनले यी सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

भारतले यसअघि वि.सं. २०४५-०४६ मा नाकाबन्दी लगाउँदा पनि थापा संचारमन्त्री थिए । त्यतिबेला राजा वीरेन्द्रको निर्देशनमा नाकाबन्दी खुलाउन खेलेको भूमिकाको अनुभव २०७२ सालमा पनि नाकाबन्दी खुलाउन महत्त्वपूर्ण भएको बताए ।

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि  तथा त्यसलाई संशोधन गर्न आफूले गरेका कामहरु, एकीकृत महाकाली सन्धिलगायत परराष्ट्रमन्त्रीको रुपमा संगालेका अनुभुतिहरु समेटिएको थापाको उक्त पुस्तक भदौं १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक हुने भएको छ ।