क्रिकेटरसँग बलिउड अभिनेत्रीको रोमान्स

थोरै टिके, धेरै टिकेन

0
Shares

क्रिकेट जगत र बलिउड जगतको एक अर्कासँग घनिष्ठ सम्बन्ध रहँदै आएको छ । ७० को दशकदेखि नै क्रिकेटर र बलिउड हिरोइनबीच रोमान्स चलिरहेको छ र यो जारी नै छ ।

क्रिकेटर र अभिनेत्रीबीचको सम्बन्ध कुनै लामो समयसम्म टिक्यो, कुनै केही वर्ष, कुनै केही क्षणका लागि मात्रै । यसमध्ये सबैभन्दा बढी जीवनभर टिकेको जोडी भनेको एउटै मात्र छ । त्यो हो ६० र ७० को दशककी अभिनेत्री शर्मिला टैगोर र क्रिकेटर नवाब मन्सुरअली खान पटौदीको सम्बन्ध । उनीहरूको सम्बन्ध जीवनभर नै टिक्यो र यसबाट क्रिकेटर र अभिनेत्रीको दाम्पत्य जीवन सफल हुन्छ भनेर सन्देश पनि गयो ।

मन्सुर र शर्मिलाको बिहे सन् १९६८ मा भएको थियो । शर्मिला टैगोर बिहेपछि अभिनेत्रीको रूपमा निकै चम्केकी पनि थिइन् । उनीहरूको सम्बन्ध जोडिएको ४३ वर्षपछि सन् २०११ मा मन्सुरको निधन भएको थियो । तर, ७० र ८० दशककी लोकप्रिय अभिनेत्री रीना राय पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग सन् १९८३ मा बिहे भएपछि बलिउडलाई छाडेर पाकिस्तान गएकी थिइन् । तर, उनीहरूको सम्बन्ध दिगो हुन सकेन र सन् १९९२ मा भारतमा फर्केर उनले डिभोर्स गरिन् । उनीहरूकी एक छोरी छिन् ।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान मोहम्मद अजरुद्दिन र ८०– ९० दशककी अभिनेत्री संगीता बिजलानीको वैवाहिक सम्बन्ध पनि टिकेन । सन् १९८८ मा कातिल चलचित्रबाट बलिउडमा डेब्यू गर्दैगर्दा संगीताको सलमान खानसँग अफेयर्स चलिरहेको थियो । तर, सलमानको फिल्म ‘मैने प्यार किया’को अपार सफलतापछि उनीहरूसँग छुटिए । प्रेममा असफल भएकी संगीताले क्रिकेटर विवाहित अजरूद्दिनको सहारा पाइन् । अजरुद्दिन पनि उनको प्रेममा यति पागल भए कि उनले श्रीमती र छोराछोरीलाई छाडेर सन् १९९६ मा संगीतासँग विवाह बन्धनमा बाँधिए । उनीहरूको वैवाहिक जीवन सन् २०१० मा डिभोर्ससँगै टुंगियो ।


अहिले भारतीय क्रिकेट टोलीका मुख्य खेलाडी विराट कोहली र अभिनेत्री अनुष्का शर्माले पनि बिहे गरेका छन् । अहिलेसम्म उनीहरूको सम्बन्धमा कुनै बाधा अड्चन आएको छैन । उनीहरू अहिलेसम्म सफल प्रेमीका रूपमा उदाहरणीय बनिरहेका छन् । २०१७ मा बिहे गरेका उनीहरूका दुई सन्तान छन् ।

केही रोमान्स भने विवाहमा परिणत हुन सकेन । जसमा, क्रिकेटर युवराज सिंह, महेन्द्रसिंह धोनी र दीपिका पादुकोणको त्रिकोणीय प्रेम कुनै चलचित्रभन्दा कम थिएन । हल्ला यस्तो थियो कि युवराज र दीपिका डेटिङ गरिरहँदा धोनीले दीपिकालाई एकोहोरो मन पराएका थिए । तर, दीपिका न युवराजकी भइन् न धोनीकी भइन्, उनले अभिनेता रणवीर सिंहसँग बिहे गरिन् ।

८० को दशकमा क्रिकेटर रवि शास्त्री र अमृता सिंहको प्रेम सम्बन्ध पनि सफल हुन सकेन । एक क्रिकेटरसँग बिहे गर्न नसके पनि अमृताले क्रिकेटरका छोरा सैफअली खानसँग बिहे गरिन् । यस्तै, कपिलदेव र सारिकाको प्रेम पनि सफल भएन । यसैगरी, पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानको हृदय पनि बलिउड ग्लेमर्स अभिनेत्री जिनत अमानमा आएको थियो । उनीहरूबीच डेटिङ चले पनि बिहे भने हुन सकेन । जिनतले पछि अर्का खान मजहर खानसँग बिहे गरेकी थिइन् ।