आँखै रसिलो


काठमाडौं ।

विदेशमा रहेका नेपालीको मुद्दा उठान गरिएको फिल्म यो मन त मेरो नेपाली होमा समावेश गीत तिम्रो आँखै रसिलो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना र संगीत तथा सबिन सुवेदी र अस्मिता अधिकारीको स्वर रहेको छ।

रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। गीतमा मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, डी आइडीका टप टेन डान्सर नरेशवीर सिंहलाई फिचरिङ गरिएको छ। आयुषा मेरो डान्स कप युएसएकी फर्स्ट रनर्सअप हुन्।

झापा र इलामका साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ पश्चिम बंगाल र अमेरिकामा खिचिएको फिल्ममा भारत, मलेसिया, पोल्यान्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायत देशका कलाकारले अभिनय गरेका छन्।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर) को कथा र निर्देशन रहेको फिल्म पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिका मित्र प्रधानले प्रस्तुत तथा ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ हैट, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतले अभिनय गरका छन्।

निर्देशक मित्रका अनुसार फिल्मले नेपाली भाषा, साहित्य, कला तथा यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तु उठान गर्न खोजेको छ। शिवम् अधिकारीको लेखन रहेको फिल्मले विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति बिर्सिंदै गएकाले फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउने दाबी गरिएको छ।