सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सुरु


काठमाडौं ।

सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन्।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा छन्। त्यसका साथै आजको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी र महान्यायाधिवक्ता रमेश बडाल लगायतको सहभागिता छ।

यसअघि पनि शुक्रबार गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल गरेको थियो। उक्त बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ।

सो सम्बन्धमा कानुन मन्त्री, महान्यायाधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि सोमबारको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरुको सहभागिता भएको छ।