लगानीकर्ताले एक महिनामा १० खर्ब कमाए


काठमाडौं ।

नेपाल राष्ट्रबैंकले चालू आर्थिक वर्षका निम्ति मौद्रिक नीति जारी गरेपछि त्यसको सकारात्मक प्रभाव शेयरबजारमा परेको छ। शुक्रबार मौद्रिक नीति जारी भएपछि आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो कारोबार हुँदा परिसूचक ११३ अंकले बढेको छ । यसदिन दुईपटकसम्म सकारात्मक सर्किट लागेर नेप्सेमा केहीबेर कारोबार रोकिएको थियो।

मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार कारोबार शुरू भएको २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार रोकिएको थियो। तत्पश्चात् भएको कारोबारमा नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को बिन्दुमा पुगेको छ । यो २९ महिनायताकै उच्च बिन्दु हो। यसअघि २०७८ फागुन ११ गते नेप्से २७२० बिन्दुमा थियो।

आइतबार नेप्सेमा सूचीकृत कम्पनीहरूको कुलबजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब ८६ करोड ५६ लाख ८६ हजार रुपियाँभन्दा बढी पुगेको छ । शेयरबजारमा आएको पछिल्लो वृद्धिमा लगानीकर्ताले झन्डै १० खर्ब रुपियाँ कमाएका छन् । गतअसार १७ गतेदेखि शेयरबजारमा वृद्धि शुरू भएको थियो । त्यसदिन नेप्सेमा सूचीकृत कम्पनीहरूको बजारपुँजीकरण ३२ खर्ब ५६ अर्ब रुपियाँ थियो । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपियाँको कारोबार भएको छ ।

आइतबार कुल ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ । यसदिन १८ वटा बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन स्टान्डर्ड चार्टर्डबाहेक अरू बैंकको मूल्य १० प्रतिशत बढ्दा स्टान्डर्ड चार्टर्डको भने ८.३ प्रतिशत मूल्य बढेको छ। एनआईएमबी, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमई, सिटिजन, प्राइम, कृषि विकासबैंक र नेपाल बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै,उपकार लघु वित्तको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आइतबार सबैभन्दा बढी गणपति लघुवित्तको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।

मौद्रिक नीतिले वाणिज्य बैंकहरूको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशतमात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था छ। त्यस्तै, क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधन, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड, रेगुलेटरी रिजर्भको रकम टियर टू क्यापिटलमा गणना गर्न पाउनेजस्ता व्यवस्था गरिएपछि वाणिज्य बैंकको शेयर मूल्य वृद्धि भएको हो।

आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाखबराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा पनि कुमारी बैंकको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ।