एकै वर्षमा ८ लाख नेपाली रोजगारी खोज्दै विदेशिए


काठमाडौं ।

आर्थिक वर्ष २०८०/८१ मा ८ लाख बढी नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अध्यागमन विभागकाअनुसार गत वर्ष विभिन्न उद्देश्यले विदेश गएका १६ लाख २१ हजार ५ सय ६६ जना नेपालीमध्ये ८ लाख ७ हजार ६ सय ९३ जना रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका हुन्।

रोजगारी खोज्दै विदेश पुगेका अधिकांश नेपालीले कठिन परिश्रम गर्नुपर्ने बाध्यतामा रहेका छन। कैयौं नेपालीहरू कामको सिलसिलामा अकाल मृत्युवरण गर्नसमेत बाध्य हुने गरेका छन्।

रोजगारी खोज्दै विदेश पुग्नेमा पुरुष ७ लाख १८ हजार ९ सय ८ र महिला ८८ हजार ७ सय ६३ जना रहेका छन्। अघिल्लो वर्ष २०७९/८० मा भने सात लाख ७१ हजार ३२७ जना नेपाली रोजगारी खोज्दै विभिन्न मुलुक पुगेका थिए। तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष रोजगारी खोज्दै विदेश जानेको संख्या बढेको छ। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा रोजगारी खोज्दै विदेश जाने युवायुवतीको संख्या २ लाख ४ हजारमात्रै रहेको थियो। तर, हाल सो संख्यामा ४ गुणाभन्दा बढीले वृद्धि भएको छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल प्रत्येक महिना औसतमा ६५ हजारभन्दा बढी र दैनिक झण्डै ३ हजार ३ सय नेपाली सुन्दर भविष्यको खोजी गर्दै विदेशतर्फ लाग्ने गरेको पाइएको छ ।

पछिल्ला दशकमा रोजगारी खोज्दै नेपाली युवा विदेशिने क्रम अत्यधिक बढेको छ। राजनीतिक अस्थिरताका कारण देशभित्र रोजगारी सिर्जना हुन नसक्दा युवाहरू रोजगारीका लागि विदेिशन बाध्य भएका छन्। विदेश जानेहरूको वार्षिक तथ्यांक हेर्दा गत वर्ष हालसम्मकै सबैभन्दा बढी ८ लाख ७ हजार ६ सय ९३ जना विदेश गएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालीले रोजगारकालागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई रहेको छ। हाल युएई, मलेसिया, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया, जापान नेपालीका प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् । त्यसैगरी युरोपेली मुलुक क्रोएसिया, पोल्यान्ड, रोमानियालगायतका देशमा श्रम स्वीकृति लिएर गइरहेका छन भने अन्य युरोपेली मुलुकमा चोरबाटो प्रयोग गरेर जाने युवाको संख्या पनि उल्लेख्य रहेको छ।

अध्यागमन विभागका अनुसार अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या पनि पछिल्लो समयमा बढेको छ। गत आर्थिक वर्षमा मात्रै अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या १ लाख ११ हजार २ सय ८९ जना रहेको अध्यागमन विभागले जनाएको छ। त्यसै गरी सो अवधिमा उपचार गर्न विदेश जानेको संख्या २० हजार ५ सय ३ रहेको छ।

रोजगारी खोज्दै नेपालीहरू पुग्ने प्रमुख आठ देश

यूएई, मलेसिया, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया, जापान

८ लाख नेपाली विदेश गए,साढे ६ लाख फर्किए

अध्यागमन विभागका अनुसार सन् २०२४ को जुनको अन्त्यसम्म विभिन्न उद्देश्यले विदेश जानेको नेपालीको संख्या ८ लाख ६८ हजार ६ सय ८० पुगेको छ । सो अवधिमा विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या भने ६ लाख ६५ हजार ३ सय ४२ रहेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा नेपालमा ५ लाख ८३ हजार २० जना पर्यटकको आगमन भएको छ भने विदेश फर्कने पर्यटकको संख्या ५ लाख ९० हजार ८ सय ३८ रहेको छ ।