नेपाली खेलाडीको प्रदर्शन उत्साहजनक रहेन


काठमाडौं ।

पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपाली खेलाडीको प्रदर्शन खासै उत्साहजनक रहेन। ७ खेलाडीले सहभागि जनाएकोमा तीन खेलाडी बाहिरिसकेका छन्। स्विमिङकी डुवाना लामा, टेबलटेनिसका स्यान्टू श्रेष्ठ र शूटिङकी सुष्मिता नेपाल रहेका छन्।

ब्याडमिन्टनका प्रिन्स दाहालले भने उनको समूहमा पहिलो खेल हारेपनि अर्को दुई खेल खेल्न बाँकी छ। आइतबार भएको स्विमिङमा डुवाना २ सय मिटर फ्रिस्टाइलको पहिलो हिटमा अन्तिम स्थानमै सीमित भएकी हुन्।

७ खेलाडी प्रतिस्पर्धा रहेको सो हिटमा उनले २ मिनेट २०.७४ सेकेण्डको समय लिएकी थिइन्। उनकै उत्कृष्ट प्रदर्शनसँग यो समय मेल खाएन। उनको २ सय मिटर फ्रिस्टाइलमा समय २ मिनेट १२.४६ सेकेण्ड रहेको छ।

सुस्मिताले पनि खराब प्रदर्शन गरेकी थिइन्। ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुष्मिताले ४२ औं स्थान हासिल गरेकी थिइन्। उनले ६०७.८ स्कोर ल्याएकी थिइन्।

यसअघि शनिबार स्यान्टू र प्रिन्सले आ—आफ्नो खेल गुमाएका थिए । दुवै सोझो सेटमा पराजित भएका हुन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियताको दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ को सेटमा पराजित भएका थिए। उनले आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) विरुद्ध खेल्न बाँकी छ। प्रिन्स विश्व वरीयतामा १ सय ७२ औं स्थानमा छन्।

स्यान्टु भने पहिलो चरणबाटै बाहिरिए । उनी सेनेगलका खेलाडी इब्राहिम डियावसँग ४–० ले पराजित भएका थिए। पहिलो सेटमा राम्रो प्रदर्शन गरेका उनी १०–१२ ले चुके। तर, यसपछि भने उनी सहजै पराजित भए। दोस्रो सेटमा ११–३, तेस्रो सेटमा ११–४ र चौथो सेटमा ११–५ ले पछि परेका थिए।