विद्यालयस्तरीय बक्सिङ सम्पन्न


काठमाडौं ।

नेपाल बक्सिङ महासंघको आयोजनामा राष्ट्रव्यापी जूनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ। शनिबार भएको फाइनल खेलमा १३–१४ वर्ष उमेरअन्तर्गत ४० किलो तौलसमुह छात्रातर्फ भाईबकी हृदयी मानन्धर पहिलो भइन् । उनले अल्फाकी झरना थापालाई हराएकी हुन्।

सोही उमेरको ४३ केजी तौलसमुहमा एबीसीकी अनुस राईले सीजीजीकी पासाङ्ग देकि शेर्पालाई ४ः१ को स्पलिट डिसिजनमा पराजित गर्दै पहिलो स्थान प्राप्त गरिन्। त्यसैगरी ४९ केजी तौल समुहमा भक्तपुरका सायेरा गोसाईले झापाकी रीना राईलाई ४ः१ अंकको अन्तरबाट पराजित गर्दै पहिलो स्थान हासिल गरिन् । सीजीजीकी सेलेस्टी बम्जनले तृतिय स्थान हासिल गरे।

५५ केजी तौलसमुहमा आरडीएसकी सुदेस्ना राजबंशीले बक्समाण्डुकी आस्था शेरचनलाई युनानिमस डिसिजनमा ५ः० ले हराएर पहिलो भइन्। छात्रतर्फ ५२ केजी तौल समुहमा भूमिका सरोज तामाङ्गले जेनेक्सका आयोग घिसिङ्गलाई ३ः१ को स्पलिट डिसिजनमा पराजित गरेर पहिलो स्थान हासिल गरे।

५७ केजी तौल समुहमा अछामका विनोद नागार्जेले सीजीजीका हिमाल गुरुङ्गलाई तेस्रो राउण्डमा आरएससीको आधारमा पराजित गरे। ६६ किलो तौलमा उदयपुरका रोजन मगरले ललितपुरका शब्द महर्जनलाई पहिलो राउण्डमै आरएससीको आधारमा पराजित गरे।