पन्ध्रौं महाधिवेशन तयारी अभियानमा शेखर समूह

कोइराला परिवार एक हुने दाबी

420
Shares

काठमाडौं ।

गत १४औं महाधिवेशनबाट छिन्नभिन्न भएका नेपाली कांग्रेसका नेतात्रय डा. शेरख कोइराला, डा. शशांक कोइराला र सुजाता कोइरालाबीच एकताको सन्देशसहित शेखर समूहले १५औं महाधिवेशनको तयारी प्रारम्भ गरेको छ । कोइराला निकट मानिएका पूर्व जिल्ला सभापतिहरूले शनिबार एक औपचारिक कार्यक्रम गरेर आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने गरी तयारी थालेको उद्घोष गरेका हुन्।

गत महाधिवेशनमा नेता शेखर कोइराला छाडेर प्रकाशमान सिंह हुँदै शेरबहादुर देउवालाई सहयोग गरेकी नेतृ सुजाता कोइराला पुनः शेखर समूहमै फर्कनुभएको छ। हिजोका सानातिना गल्ती सच्याउँदै लोकतन्त्र बलियो बनाउन र बीपीको लिगेसीलाई जीवित राख्न शेखरलाई सहयोग गर्ने उहाँको प्रतिबद्धता छ।

४२औं बीपी स्मृति सप्ताहका अवसरमा शनिवार आयोजित भेटघाट कार्यक्रममा उहाँले नेपाली कांग्रेस अहिले सिद्धान्तविहीनजस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसात् गरेमात्र संगठन जोगाउन सकिने बताउनुभयो। पार्टी नेतृत्वमा पुर्‍याउने अभियानलाई सबैले सहयोग गर्न अग्रह गरेकी नेतृ कोइरालाले पछिल्ला नेताहरूमध्ये डा. शेखरमा बीपीको केही अंश बाँकी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ। उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ।’

केही दिनअघि मात्र नेतृ कोइरालाले विशालनगरस्थित शेखरको सचिवालयमा पुगेर भाबी सभापतिका रूपमा शेखरलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो । महाधिवेशनअघि नै डा. शशांकलाई पनि एकैठाउँमा ल्याएर बीपी कोइरालालको लिगेसीलाई पुनः स्थापित गराउने उहाँको जिकिर छ। कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्विलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरूले बद्नाम गर्न खोजिरहेको उहाँको निष्कर्ष छ।

‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ’, यसअघि उहाँले भन्नुभयो–‘मलाई अरू पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर, नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ।’ उहाँले भन्नुभयो– ‘सिद्धान्तबिना राजीतिक दल बाँच्न सक्दैन। डा. शेखरले बीपीको सिद्धान्तलाई आत्मसात् गरिरहेकाले उहाँलाई समर्थन गर्नुको विकल्प छैन। सबैले उहाँलाई सहयोग गरेर नेतृत्वमा पुर्‍याउनुपर्छ।’

आफ्नै समूहका नेताहरू र कोइराला परिवारबाटै धोका पाएपछि १४औं सभापति बन्न नसकेका नेता शेखर कोइरालाले पछिल्लो समय नेताहरूलाई आफ्नो पक्षमा समेट्दै लानुभएको छ। १४औं महाधिवेशनपूर्व बलियो टिम बनाएर लागेका नेताहरू महाधिवेशनसँगै तीनतिर विभाजित भएका थिए। कोइरालाल समूहको नेतृत्व गरेर सभापति देउवा सिवरुद्ध खरो उत्रिएका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमासिंह समेत अन्ततः देउवाकै पक्षमा उभिएपछि नेतृत्व प्राप्तिबाट विमुख कोइरालालहरू फेरि एक ठाउँ आउने दाबी नेताहरूले गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी बलियो बनाउन र लोकतन्त्रलाई सुदृढ गर्नका लागि कोइरालाहरू एक ठाउँमा हुनुको विकल्प छैन। कोइरालासँगै अरू नेताहरूसमेत विस्तारै शेखर कोइराला समूहमा समाहित भएर पार्टी र लोकतन्त्रलाई बलियो बनाउने लाग्नुहुने छ।’

डा. शेखर कोइरालाको पक्षमा अनुकूल वातावरण बन्दै गएको भन्दै तनहुँ पूर्व सभापति रघुनाथ पौडेलले डा. कोइरालाले आफ्ना नीति कार्यक्रम र विचार सार्वजनिक गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

पूर्वसभापतिहरू भूपेन्द्र थापा, गोमा केसी, त्रैलोक्यप्रताप सिंह, भरतबहादुर खड्का, खड्गबहादुर शाहीलगायत नेताहरूले १५औं महाधिवेशनमा कोइरालाको नेतृत्व स्थापित गर्ने अभियानमा सबै तहबाट जुट्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, महाधिवेशन आउन कम्तीमा अझै डेढ वर्ष बाँकी नै छ।