ओलम्पिकको इतिहासमा अलग उद्घाटन

336
Shares

काठमाडौं ।

विश्व खेलकुदमा महाकुम्भमेलाले परिचित ग्रीष्मकालीन ओलम्पिकको ३३औं संस्करण पेरिसमा शुक्रवारदेखि शुरू भएको छ । ग्रीष्मकालीन ओलम्पिककै इतिहासमा अलग किसिमले पेरिस ओलम्पिक २०२४ को उद्घाटन भयो । उद्घाटन फ्रान्सको सेन नदीमा स्टेडियम बाहिर भएको थियो ।

प्रत्येक राष्ट्रका खेलाडीलाई डुंगामा राखेर समारोहमा भाग लिन लगाएको थियो । कुल ६ किलोमिटर दूरीमा चलेको उद्घाटन समारोहमा डुंगामा १०औं हजार खेलाडीको सहभागिता थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका २ सय ६ सदस्य राष्ट्रहरूले प्रतियोगितामा भाग लिएका छन्।

पेरिस ओलम्पिकमा ३२ राष्ट्रका ३ सय २१ स्वर्ण पदकका लागि १० हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । यो समाचार तयार पार्दासम्म चीनले २ स्वर्ण जितेको छ भने अरू राष्ट्रले स्वर्ण जित्न सकेका छैनन्। अगस्ट ११ तारिखसम्म चल्ने पेरिस ओलम्पिकमा सधैं झैं कुन राष्ट्रले बढी पदक जित्ने भन्नेमै खेलप्रेमीहरूको चासो हुन्छ। तर, खेलप्रेमीको नजरमा पनि चीन र अमेरिकाबीच नै कसले बढी स्वर्ण पदक जित्ने भन्ने होड हुने अनुमान रहने छ।

अमेरिकाले बढीमा ३५ देखि ४० स्वर्ण जित्नेछ भने चीनले ३५\३६ स्वर्ण जित्ने अनुमान लगाइएको छ। गत टोकियो ओलम्पिकमा चीन अमेरिकासँग १ स्वर्णले पछि परेको थियो। यी दुई राष्ट्रलाई कडा चुनौती दिने रुस यसपटक छैन। रुसका खेलाडी त छन् तर, उनीहरूले रुसको झण्डामुनि बसेर खेल्न भने पाउने छैनन्। किनभने रुसले युक्रेनमाथि युद्ध गरेपछि विश्व खेलकुदले रुसलाई अलग पारेको छ।

आयोजक भएको नाताले यसपटक ओलम्पिकमा फ्रान्सका खेलाडीले यी दुई राष्ट्रका खेलाडीलाई कडा चुनौती दिन सक्नेछन्। विगतमा पनि फ्रान्सको राम्रै प्रदर्शन रहेको थियो। तर, यसपटक घरेलु भूमिको फाइदा फ्रान्सका खेलाडीलाई हुन सक्छ। अनुमान लगाएअनुसार फ्रान्सले कम्तीमा ३० स्वर्ण जित्नेछ।