स्यान्टुको ओलम्पिक यात्रा समाप्त


काठमाडौं ।

नेपाली खेलकुदको इतिहासमा पहिलो पटक टेबलटेनिसलाई ओलम्पिकमा पुर्‍याएका स्यान्टू श्रेष्ठ पराजित भएका छन्।
शनिबार भएको मेन्स सिंगल्स इभेन्टमा स्यान्टू सेनेगलका इब्राहिम डियावसँग ४–० गेममा पराजित भएका हुन्।

उनले प्रिलीमीनरी राउन्डअन्तर्गतको यो खेल १०–१२, ३–११, ४–११, ५–११ ले गुमाएका थिए । योसँगैं नेपालको तर्फबाट स्यान्टूको ओलम्पिक यात्रा पनि समाप्त भयो।

स्यान्टूले पहिलो सेटमा कडा चुनौती दिए पनि पछिका सेटमा इब्राहिमसँग टिक्न सकेनन् । स्यान्टू छनोट चरण पार गरेर ओलम्पिक खेल्ने नेपालका तेस्रो खेलाडी हुन् । यसअघि संगीना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए।
चीनले जित्यो पहिलो गोल्ड

शुक्रबारदेखि फ्रान्सको पेरिस शहरमा शुरु भएको ३३ औं समर ओलम्पिकको पहिलो गोल्ड मेदल चीनले जितेको छ। १० मिटर एअर राइफल मिक्स टिमतर्फ चीनले दक्षिण कोरियाको टिमलाई १६–१२ ले हराएर गोल्ड जितेको हो। शनिबार भएको इभेन्टमा चीनको तर्फबाट हुआंग युटिंग र शेंग लिहाओ जित हासिल गरेका थिए।

जोकोभिचको जित
टेनिस मेन्स सिंगल्सतर्फ सर्बियाका नोभाक जोकोभिचले म्याथ्यु एब्डेनलाई ६–०, ६–१ ले हराएर केवल ५४ मिनेटमा सहज जित हासिल गरेका छन् । जोकोभिच गोल्ड मेदल जित्ने लक्ष्यका साथ ओलम्पिकमा सहभागि भएका हुन् । उनले बेइजिङ ओलम्पिक २००८ मा ब्रन्ज मेदल जितेकै ओलम्पिकमा अहिलेसम्मको बेस्ट हो ।
तर, जोकोभिचका लागि स्पेनका कार्लोस अल्कराज चुनौती बन्नेछन् । तीन साता अघि बिम्बल्डन प्रतियोगिताको फाइनलमा जोकोभिच अल्कराजसँग पराजित भएका थिए ।.

उद्घाटनका मुख्य कुराहरू
—ओलम्पिक इतिहासमा पहिलो पटक स्टेडियमबाहिर उद्घाटन गरिएको
—सहभागी राष्ट्रका टिमलाई डुंगा र क्रुजमा राखेर सेन नदीमा मार्चपास गराएको
—मार्चपास पेरिसको आइफल टावरमा पुगेर टुंगिएको ।
—मार्चपासका लागि ८५ डुंगा र जहाज प्रयोग गरिएको ।
—मार्चपासमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनीता श्रेष्ठ प्रधानले बोकेका ।
—लैंगिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पुरुष र महिला खेलाडीलाई मार्चपासमा राष्ट्रिय झण्डा बोक्न सुरु गरेको ।
—मार्चपासमा श्यान्टु र मनीतासहित नेपालबाट ८ जना सहभागी ।
—पेरिस ओलम्पिकको ३३ औं संस्करणमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागीमध्ये ३ पुरुष र ४ महिला खेलाडी छन् ।
—नेपालका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ हुन् ।
—मार्चपासमा नेपालसँगैं नामिबिया र नाउरुको टिम एउटै डुंगामा राखिएको ।
—सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले समर ओलम्पिकमा सहभागिता जनाएको ।
—टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाएको ।
—मार्चपासमा सहभागी २०६ राष्ट्रका खेलाडी र अफिसियल गरी करिब ७ हजार सहभागी ।
—फ्रान्सले १ सय वर्षपछि ओलम्पिक आयोजना गरेको ।
—पछिल्लोपटक १९२४ को आठौं संस्करण पेरिस सहरमै भएको ।
—फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेश्रो पटक हो ।
—फ्रान्सले सन् १९०० को ओलम्पिक आयोजना गरेको छ ।
—पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १०,५०० खेलाडीले ३२ खेलका ३२९ स्पर्धामा प्रतिस्पर्धा गर्ने ।
गल्तीमा माफी
ओलम्पिक आयोजकले दक्षिण कोरियाको टिमलाई उत्तर कोरिया भनेर परिचय दिएको थियोे । फ्रेन्च र इंग्लिस भाषामा उत्तर कोरियाको आधिकारिक नाम ‘डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरिया’ भनेर एनाउन्स गरेको थियो । पछि आयोजकहरूले माफी माँगेका थिए । दक्षिण कोरियाको आधिकारिक नाम ‘रिपब्लिक अफ कोरिया’ हो ।