श्रीलंकाविरुद्ध भारतको जित


एजेन्सी ।

श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टी २० खेलमा जित हात पारेको छ। जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिजमा १–० अग्रता लिएको छ। श्रीलंकाको पाल्लीखेलेमा शनिबार भएको खेलमा पाहुना टोलीले ४३ रनको जित निकाल्यो। भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा अल आउट हुदै १ सय ७० रन मात्र बनायो।

श्रीलंकाका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए। उनले ४८ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर कुशल मेन्डिसले २७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए।

पहिलो विकेटका लागि निशंका र मेन्डिसले ८.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि लगातार विकेट गुमाउँदा श्रीलंकाले हार टार्न सकेन। कुशल परेराले २०, कमान्डु मेन्डिसले १२ र मथिशा पथिरानाले ६ रन जोडे।

भारतका लागि रियान परागले ३, अर्शदिप सिंह र अक्षर पटेलले समान २ तथा मोहम्मद सिराज र रवि बिष्नोईले समान १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए। उनले २६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

रिषभ पन्तले ३३ बलमा ४९ रन बनाउँदा ओपनर यशस्वी जैसवालले २१ बलमा ४० रन बनाए । शुभमन गिलले ३४, अक्षर पटेलले अविजित १० तथा हार्दिक पान्ड्याले ९ रन बनाए। श्रीलंकाका लागि मथिशा पथिरानाले ४ ओभरमा ४० रन खर्चिएर ४ विकेट लिए । दिल्शान मधुशंका, आसिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान १ विकेट लिए । दुई देशबीचको दोस्रो टि २० आई खेल आइतबार रहेको छ ।