ऊर्जामन्त्रीको आरोप: विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई टेरेन 


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन्। उनले सरकारसँग प्राधिकरण नेतृत्वले निजी कम्पनीको जस्तो व्यवहार गरेको भन्दै आपत्तिसमेत जनाए।

ऊर्जामन्त्री खड्काले सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार निर्णय गरेको भन्दै प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम असुली गर्ने क्रममा प्राधिकरणले ६ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको विषयमा छलफल गरिएको थियो। छलफलमा मन्त्री खड्काले प्रधानमन्त्री, सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र भन्दै प्रश्न गरे।

उनले प्राधिकरण नेतृत्वले सरकारको निर्देशनसमेत लत्त्याएको आरोप लगाए। ‘सरकारका निमित्त प्राधिकरण प्राइभेट कम्पनीजस्तो देखिन्छ। प्राधिकरणलाई अप्ठ्यारो पर्दा सरकारले नै होला नि सहयोग गर्ने। यो म किन प्रस्तुत गरिराखेको छु भने बोर्डमा नियुक्त गरेका दुई जना सदस्यले नोट अफ डिसेन्ट लेख्नुभयो‚ मान्दै मान्नु हुन्न, तर्क कुनै छैन‚’ उनले भने‚ ‘प्रधानमन्त्रीको निर्देशन, सरकारको निर्देशन एउटा संस्थाले नमान्ने भन्ने हुन्छ? भोलि दायित्वबोध त त्यो सरकारले गर्ने होला नि! मानौँ एक छिन प्राधिकरण टाट पल्टियो‚ त्यसको क्षतिपूर्ति सरकारमार्फत नै होला नि।’

मन्त्री खड्काले प्रधानमन्त्री केपी ओलीले उद्योगबाट पैसा असुली नगर्ने भन्ने कुनै पनि निर्देशन नदिएको पनि दोहोर्‍याए।