देशरभरका यातायात कार्यालयमा फेरि पनि सर्भर ठप्प हुन सक्ने

यातायात व्यवस्था विभागमै चलखेल हुँदा समस्या


काठमाडौं ।

यातायात कार्यालयहरूको सर्भर डाउन हुँदा केही दिनअघि देशभरका ४१ वटा यातायात कार्यालयको सबै काम ठप्प भयो। हजारौं सर्वसाधारणले निकै दुःखकष्ट व्यहोर्नुपर्‍यो। सर्भर डाउन हुँदा यातायातका सबै काम प्रभावित बनेका थिए।

कैयौं घण्टा सर्भर डाउन भएपछि यातायात कार्यालयमा सर्वसाधारणहरू विरोधमा उत्रिएका थिए। यस्तो समस्या भने जिल्लास्थित कार्यालयका कारण नभई यातायात व्यवस्था विभागमा भइरहेको विभिन्न चलखेलका कारण आएको बताइएको छ। विभाग स्रोतका अनुसार देशभरका यातायात कार्यालयको सर्भर फेरि जुनसुकै बेला डाउन हुन सक्ने देखिएको छ।

यातायात व्यवस्था विभागले तीन वर्षदेखि नै सर्भरलगायतका विभिन्न सिस्टम र डाटा व्यवस्थापनको जिम्मेवारी आईटी विज्ञ सविन श्रेष्ठलाई दिँदै आएको थियो। तर, अहिले भने विभागका केही कर्मचारीले चलखेल गरी श्रेष्ठलाई हटाउन र हतोत्साही बनाउन खोजेपछि समस्या आउन थालेको हो।

श्रेष्ठ इमानदार र क्षमतावान् आईटी विज्ञको रूपमा चिनिन्छन्। तर, विभागका केही कर्मचारीले बिचौलियाको प्रभावमा परी श्रेष्ठलाई हतोत्साही पार्ने, मनोबल गिराउने तथा उनको करार अवधि नै नथप्ने खेलमा लागेपछि पछिल्लो समय श्रेष्ठले सर्भरको कामसमेत राम्ररी गर्न सकेका छैनन् । केही दिनअघि सर्भर डाउन भएर सर्वसाधारणहरू पीडित भएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागका महानिर्देशकलगायतका अधिकारीहरूसँग सर्भरमा आएको समस्या र समाधानका उपायका बारेमा ब्रिफिङ लिनुभएको थियो।

त्यस क्रममा विभागका अधिकारीहरूले आईटी विज्ञ सविन श्रेष्ठले ३ वर्षदेखि सर्भरको जिम्मेवारी लिँदै आएको र अहिले उहाँले विभागबाट पाउने सेवासुविधा नपाएपछि निराश हँुदै काम गर्न छोडेकाले समस्या आएको बताएका थिए। त्यसपछि मन्त्री दाहालले हाल थाइल्यान्डमा रहनुभएका श्रेष्ठलाई त्यहीँबाटै फोन गरी सर्भरको समस्या समाधान गरिदिन आग्रह गर्नुभएको थियो। मन्त्रीको फोन पाएपछि श्रेष्ठले सर्भरको सबै काम गरिदिनुभएको थियो। त्यसपछि अहिले सर्भरको समस्या समाधान भएको छ। मन्त्री दाहालले श्रेष्ठलाई कानुनअनुसार पारिश्रमिक दिलाउन विभागका महानिर्देशकलाई निर्देशनसमेत दिनुभएको थियो।

तर श्रेष्ठले विभागबाट पाउनुपर्ने सेवासुविधा विगत तीन महिनादेखि पाउन सक्नुभएको छैन । उहाँलाई विभागले ३ वर्ष अघिदेखि नै वार्षिक ५ लाख पाउने गरी करार सेवामा राखेको थियो । तर, पछिल्लो तीन महिनादेखि उहाँलाई विभागले कुनै पारिश्रमिक दिन सकेको छैन । उल्टो विभागका केही निर्देशकलगायतका कर्मचारीले श्रेष्ठलाई मनोबल गिराउने र सर्भर, डाटाको काम गर्न नदिने गरी भूमिका खेलिरहेको बताइएको छ।

यातायात व्यवस्था विभाग स्रोतका अनुसार श्रेष्ठलाई पछिल्लो ३ महिना(वैशाख, जेठ, असार) देखिको सेवासुविधा दिने भनेर सोसम्बन्धी शाखाले महानिर्देशकसमक्ष टिप्पणी पेस गरेको थियो । महानिर्देशकले सो टिप्पणी कार्यान्वयनका लागि तोक लगाए पनि विभागकै प्रशासन हेर्ने उपसचिव तथा निर्देशक नरहरि तिवारीले श्रेष्ठलाई पारिश्रमिक दिन महानिर्देशकबाट स्वीकृत भएको टिप्पणीसहितको पत्र च्यातेर गायब पारेपछि समस्या आएको स्रोतको दाबी छ।

विभागको प्रशासन हेर्ने उपसचिव तिवारीले केही बिचौलियाको निर्देशनअनुसार काम गर्ने गरेको र सर्भरको हेन्डलिङ गर्न आफू निकटका आईटी विज्ञलाई ल्याउने योजनाअनुसार सविन श्रेष्ठको मनोबल गिराउने र उनलाई हतोत्साही पार्ने काम गरिरहेको विभाग स्रोतको दाबी छ । तिवारीले बिचौलियाको निर्देशनअनुसार नै काम गरेर यातायात क्षेत्रमा गर्न खोजिएको व्यापक सुधार अभियानलाई समेत असफल पार्न खोजिरहेको बताइएको छ।

यातायात व्यवस्था विभागमा महानिर्देशक भएर आएपछि उद्धवप्रसाद रिजालले व्यापक सुधार अभियान थाल्नुभएको थियो । उहाँले विभागका आईटी निर्देशक मुकेश रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएर लाइसेन्स वितरणमा भएका बदमासीको छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याउँदै विभागमा हुने गरेका भ्रष्टाचार रोक्ने प्रयास गर्नुभएको छ । यद्यपि, विभागमा सुधार नचाहने सो समूहले महानिर्देशकलाई समेत असहयोग गर्ने गरेको कर्मचारीको गुनासो छ ।

विभागमा हुने गरेका यस्तै चलखेलका कारण सुधार अभियान रोकिने र सर्भरको समस्यासमेत आइरहन सक्ने भन्दै विभागभित्रै चिन्ता व्यक्त गर्न थालिएको छ । सर्भरको जिम्मेवारी पाएका आईटी विज्ञ श्रेष्ठले पाउनुपर्ने पारश्रमिक नपाएको सम्बन्धमा विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुसँग जिज्ञासा राख्दा श्रेष्ठले लामो समयदेखि काम गरिरहेको आफूलाई थाहा भए पनि उहाँले पारिश्रमिक नपाएको बारेमा भने कुनै जानकारी नभएको बताउनुभयो।

‘श्रेष्ठले आईटी विज्ञका रूपमा लामो समयदेखि विभागमा काम गर्दै आइरहनुभएको सत्य हो, त्यसैले उहाँले पारिश्रमिक पाउनुभएको छैन भने पाउनुपर्छ । तर, यसलाई बहाना बनाएर उहाँले सर्भर डाउन गराउन पाउनुहुन्न’ –प्रवक्ता पनेरुले नेपाल समाचारपत्रसँग भन्नुभयो । प्रवक्ता पनेरुले श्रेष्ठले पारिश्रमिक नपाएको हो भने सम्बन्धित ठाउँमा आएर आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।