जब भिएआरले घन्टौपछि रद्द गरे अर्जेन्टिनाको गोल


काठमाडौं ।

बिहीबार प्रकाशित अधिकांश मिडियामा खेलसम्बन्धी एउटा गलत समाचार छापिएको थियो । वास्तवमा यसरी गलत समाचार छापिनुमा अखबारको कुनै दोष थिएन। किनभने पेरिसमा ३३औं ओलम्पिक औपचारिक रुपमा उदघाटन हुनुभन्दा दुई दिनअघि नै फुटबलका खेलहरु सुरु भइसकेको छ।

बुधबार राति भएको अर्जेन्टिना र मोरोक्कोबीचको खेल पनि निर्धारित समयभित्र २–२ गोलको बराबरीमा सकिएको थियो । तर, त्यसको दुई घन्टापछि फुटबल इतिहासमा अहिलेसम्म नभएको एउटा घटना घट्यो। उक्त खेलमा अर्जेन्टिनाले गरेको बराबरी गोल दुई घन्टापछि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले रद्द गरिदियो र मोरोक्कोलाई २–१ ले विजेता घोषणा गरियो ।

नेपाली समयअनुसार उक्त निर्णय मध्यरातमा गरिएकोले अधिकांश पत्रपत्रिकाले पूर्व लिखित बराबरीको नतिजा नै प्रकाशित गरे। त्यतिमात्र होइन, भार जस्तो अत्याधुनिक प्रविधि प्रयोगका बावजूद ओलम्पिक जस्तो खेल महाकुम्भमा यसरी खेलको नतिजा दुई घन्टापछि बदल्नुले विश्व खेलमन्चलाई नै स्तब्ध र तरंगित पार्‍यो।

उक्त निर्णयपछि विश्वका दिग्गज फुटबलरहरुले यसलाई अहिलेसम्म नदेखेको र नसुनेका प्रतिक्रिया दिए। अर्जेन्टिनाका कोच हाभिइर मास्चेरानोले यसलाई ‘लज्जास्पद’ र ‘सर्कस’ को संज्ञा दिएका थिए। हुनत उक्त खेलका सुरुवातमा नै अर्जेन्टिनाको राष्ट्रिय गान बजाउने क्रममा रंगशालामा उपस्थित दर्शकहरुले हो–हल्ला गरेपछि अर्जेन्टिनी खेलाडीहरु आवेशमा आएको देखिन्थ्यो । जसको असर खेलभरि नै अर्जेन्टिनी खेलाडीहरुमा प्रष्ट झल्केको थियो ।

यो विषयलाई लिएर अर्जेन्टिनी फुटबल संघले फिफामा उजुरी समेत गरेको बताइएको छ । वास्तवमा दर्शकहरुले अर्जेन्टिनाको राष्ट्रिय गान बज्ने क्रममा हल्ला गर्नु पछाडिको रहस्य चाहिँ डेढ साताअघि कोपा अमेरिकामा जित्ने क्रममा अर्जेन्टिना टिमले फ्रेन्च खेलाडीविरुद्ध गरेको रंगभेदी ब्यवहारलाई मानिएको छ ।

कोपा अमेरिकाको उपाधि जितेपछि उनीहरूले फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पे लगायतलाई लक्षित गरी ‘रंगभेदी र समलिंगी’ नारा लगाएको आरोपमा फिफाले छानबिन अघि बढाएको थियो।

अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले लकर रुमदेखि टिम चढेको बससम्म उपाधि जितेको उत्सव मनाउने क्रममा फ्रेन्च खेलाडीको रङ र वर्णलाई लिएर नारा लगाएका थिए। फर्नान्डेजले नेतृत्व गरेको रंगभेदी नारामा अर्जेन्टीनी टिमका खेलाडी सामेल भएको भिडियोसमेत सार्वजनिक भएको थियो।

खेलपछि के–के भयो ?
मेदिनाले २–२ गोल बराबरी गरेपछि बोटल र कपहरू मैदानमा बर्सेको । टार्गेट भने अर्जेन्टिनी खेलाडीमाथि थियो ।
धेरै सख्यामा मोरोक्कोका सपोर्टरहरू मैदानमा पसेर उपद्र गरेको ।
रेफ्री र खेलाडीलाई तुरुन्तै मैदानबाट बाहिर ल्याइएको ।
अन्तिम ३ मिनेट खाली स्टेडियममा खेलाइएको ।
मेदिनाले ड्र गोल गर्दा खेलाडी अफसाइडमा भएकोले भीएआरले सो गोल डिसमिस गरिएको ।
प्रायजसो मिडियामा अर्जेन्टिना बराबरी भन्ने न्युज आएको २ घण्टापछि मोरोक्को २–१ ले जितेको एनाउन्स भएको ।