निर्मला पन्त हत्या प्रकरण : उपलब्धि शून्य, छानबिन समिति बनेको बन्यै  

182
Shares

काठमाडौं ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि  हत्या भएको ६ वर्ष बित्यो तर हत्यारा को हो अहिले पनि रहस्यको विषय बनेको छ। भीमदत्त नगरपालिका-२ उल्टाखामकी पन्तको हत्याको विषयलाई लिएर देश विदेशमा विरोध प्रदर्शन भए। हत्यारालाई कारबाहीको दायरामा ल्याउन हरेक सरकार असफल भएको भन्दै जुन पार्टी सरकारमा गए पनि त्यही पार्टी उछितो काड्ने काम अहिले पनि जारी छ। 

सरकारले हत्यारा पत्ता लगाउन अधिकार सम्पन्न आयोगदेखि अनुसन्धान आयोग समेत गठन भयो तर हत्यारा अहिले सम्म पहिचान हुन सकेको छैन। बितेको ६ वर्षमा ६ जना प्रहरी महानिरीक्षक र ५ जना गृह मन्त्री बने अनुसन्धान गर्न ६ वटा आयोग गठन गरियो तर अहिले सम्म यो काण्ड रहस्यको गर्भमा नै रहेको छ। 

पछिल्लो पटक गृह मन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू गृह मन्त्री भएको एक हप्तामा निर्मलाका हत्यारालाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउने उद्घोष गरे। उनले पनि हत्यामा संलग्न रहेका व्यक्तिको बारेमा कुनै सुराक पाउन सकेनन् । 

उनले राजनीतिक चलाख्याइ गरेर निर्मला हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको बेला आफूलाई सरकार छाड्न बाध्य बनाएको भनेर जनतालाई फेरि एक पटक बेवकुफ बनाउने प्रयत्न गरेका थिए। तर पछि प्रहरी प्रधान कार्यालयले भने निर्मलाको हत्या काण्डको अनुसन्धान नै अघि नबढेको बताएपछि निर्वतमान गृहमन्त्री लामिछाने चुप रहन बाध्य भए । 

निर्मलाको हत्यामा संलग्न रहेका व्यक्तिलाई सार्वजनिक गर्नु पर्ने भन्दै आन्दोलनको अगुवाइ गरेका भएका रमेश लेखक अहिले गृहमन्त्री छन् । उनले पनि निर्मलालाई न्याय दिन आफू पछि नपर्ने बताउँदै आउनु भएको छ तर अहिले सम्म अनुसन्धान गर्न गठित टोलीले हत्याका बारेमा खासै केही भन्न सक्ने सिफारिस गरेका छैनन्। 

२०७५ साल साउन १० गते घरबाट साथी कहाँ जान्छु भनेर निस्केकी निर्मला कहिल्यै घर फर्किनन् । निर्मलाको हत्या भएदेखि अहिलेसम्म रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, फेरि रवि लामिछाने र हाल रमेश लेखक गृहमन्त्री भए उनीहरूले निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएर छाड्ने बताउँदै आएका छन् तर परिणाम अहिले सम्म शून्यको अवस्थामा रहेको छ।

निर्मलाको हत्या हुंदा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए। उनले पनि हत्यारा पत्ता लगाउन उच्च स्तरीय  अनुसन्धान टोली पटक पटक घटना स्थलमा पठाए तर त्यसले पनि केही उपलब्धि हासिल गर्न सकेन । खनालको कार्यकाल  निर्मला हत्या प्रकरणमा रुमलिएर बित्यो । उनीपछि  ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हाल वसन्त कुँवर आइजीका रूपमा कार्यरत छन् । उनीहरू पनि हत्यारा पत्ता  लगाएर छोड्ने बताउँदै आएका छन् । 

हरेक गृहमन्त्री र प्रहरी प्रमुखले निर्मला पन्तको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्ने बताउन छाडेका छैनन्। प्रमुख प्रतिपक्षी भूमिकामा रहनु भएका हालका गृह मन्त्री लेखकले सरकारी पक्षबाट हत्याको प्रमाण मेटाउने काम भएको भन्दै आन्दोलनको अगुवाइ गर्नु भएका लेखकको काँधमा अहिले यो गहन जिम्मेवारी आएको छ।

राज्यले हत्यारालाई संरक्षण दिएर राखेको आरोप लगाउँदै आन्दोलनलाई उग्र बनाउन प्रमुख भूमिकामा देखिनु भएका गृह मन्त्री लेखकका लागि यो हत्या प्रकरण पेचिलो बन्ने देखिन्छ। हत्या प्रकरणलाई नजिकबाट हेर्नु भएका पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले निर्मलालाई न्याय भन्दा पनि यो प्रकरणलाई उजागर गरेर केही व्यक्ति वा समूहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्याबासी पाए पनि निर्मलाले भने अझै न्याय पाउन नसकेको बताए। 

कहिले कही अनुसन्धानले सही ट्र्याक लिन नसक्दा यस्ता इररहरु आउने गरेको छ। यसमा अझै गहन अनुसन्धानको खाँचो रहेको पूर्व डिआइजी मल्लले बताए। यो घटनाले हरेक सरकारलाई तर्साउने गरेको छ।

त्यही भएर हरेक सरकार आउनासाथ निर्मलाको विषयले प्राथमिकता पाउने भएपनि अहिले सम्म १ सय २५ जनाको डिएनए परीक्षण गरिएको छ भने ६ सय ७० जना भन्दा बढीसँग अनुसन्धान टोलीले सोधपुछ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।