नेपालमा सब सेन्टर खोल्ने विषय गृह सचिवको उच्च प्राथमिकतामा

एडिपीसीको पाँचौँ बैठक थाइल्यान्डको बैंककमा 


काठमाडौं ।

प्राकृतिक प्रकोप न्यूनीकरण , तयारी ,व्यवस्थापन र साझा सहकार्यका क्षेत्रमा कार्यरत एशियन डिस्यास्टर प्रिपियर्डनेस सेन्टर(एडिपीसी) को पाँचौँ बैठक थाइल्यान्डको बैंककमा बिहीबारदेखि  सुरु भएको छ।

एडिपीसीमा नेपाल लगायत चीन, भारत,थाइल्यान्ड,फिलिपिन्स,पाकिस्तान,श्रीलङ्का,बङ्गलादेश र कम्वोडिया सदस्य राष्ट्रका रूपमा रहेका छन्।

 सबै सदस्य राष्ट्रका उच्च पदस्थहरूको सहभागिता रहेको  सो बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको  उच्च पदाधिकारीहरूको टोलीले सशक्त सहभागिता जनाइरहेको  छ। नेपाली टोलीको नेतृत्व गरिरहेका गृह सचिव अर्यालले बैठकको पहिलो दिन नेपालमा प्रकोप न्यूनीकरण, व्यवस्थापन र प्रकोप पूर्वको तयारीका लागि सेब सेन्टर खोल्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

साथै उनले विपद् व्यवस्थापनमा आवश्यक सहकार्य गर्ने विषयलाई पनि छलफलमा राखे। गृह सचिव अर्यालले राखेको एजेन्डा र छलफलका विषयमा सहभागी अन्य राष्ट्रहरू सकारात्मक देखिएका छन्। बैठक शुक्रबार सम्म चल्ने छ।

 एडिपीसीले यस क्षेत्रमा सङ्कटकालीन व्यवस्थापन, विपद् व्यवस्थापन,विपद् जोखिम न्यूनीकरण,क्षमता विकास, तालिम र जनशक्ति व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र साझा सहकार्य तथा विभिन्न सहयोग आदान प्रदानका विषयमा काम गरिरहेको छ। हाल यसको अध्यक्ष राष्ट्रको रूपमा भारत रहेको छ र नेपाल भाइस अध्यक्ष को रूपमा मनोनयन भएको छ।

यससँगै आगामी २०२५ मा नेपाललाई  स्वतः एडिपीसीको अध्यक्षता ग्रहण गर्ने बाटो खुलेको छ। यसबाट नेपाललाई विपद् व्यवस्थापनमा प्राविधिक लगायत विविध विषयमा सहयोग प्राप्त हुने र नेपाल थप  लाभान्वित हुने बताइएको छ। गृह सचिव अर्याल नेतृत्वको नेपाली टोलीको सशक्त सहभागिता तथा बैठकमा उठाइएका महत्त्वपूर्ण विषयका कारण  एडिपीसी बैठकमा अन्य सदस्य राष्ट्रहरूले नेपालको भूमिकालाई उच्च ‘नोटिस’मा राखेको बताइएको छ।