विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज २१ वर्ष पुरानो

3.2k
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज २१ वर्ष पुरानो रहेको पाइएको छ । विमान २१ वर्ष ४ महिना पुरानो रहेको पाइएको हो ।

५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो ।प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।

बम्बार्डियरले सन्‌ २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो । एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो । त्यसपछि इन्डिपेन्डेन्स एअरले बेचेपछि सन्‌ २००७ जुनमा नाइजेरियाको अरिक एअरले यो विमान किनेर सन्‌ २००८ अप्रिलसम्म उडाएको थियो ।

अरिक एअरबाट दक्षिण अफ्रिकाको एसए एक्प्रेसले अप्रिल २००८ मा यो विमान किनेको थियो । त्यसपछि पुनः अमेरिकाको एरोलिजले सन्‌ २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।