पक्राउ परे १४ हजार ७ सय ६४ फरार अभियुक्त

१० हजार बढी बैंकिङ कसुरका

140
Shares

–२ अर्ब ८१ करोड ६५ लाख ९४ हजार ९ सय ९५ जरिवाना असुल्न बाँकी
–२० हजार ९ सय १३ वटा लैंगिक हिंसाका उजुरी दर्ता
–फैसला कार्यान्वयनमा प्रहरीलाई सफलता

काठमाडौं ।

गत आर्थिक वर्षमा नेपाल प्रहरीले फरार रहेका १४ हजार ७ सय ६४ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ। यो संख्या आर्थिक वर्ष २०७९/८० भन्दा २४ दशमलव ५ प्रतिशत बढी रहेको छ।

आर्थिक वर्ष २०७९–८० मा अदालतले दोषी ठहर गरेको तर फरार रहेका ११ हजार ९ सय २ जना अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयका लागि अदालतमा बुझाएको थियो । गत आर्थिक वर्षमा ५ हजार ३ सय ३५ वर्ष ६ महिना २० दिन कैद तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरी अदालतमार्फत् विभिन्न कारागारमा पठाएको नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार फरार रहेर पक्राउ परेकाहरूले बुझाउनुपर्ने जरिवाना २ अर्ब ८१ करोड ६५ लाख ९४ हजार ९ सय ९५ असुलका लागि पनि अदालतमा बुझाएको विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रहरीले १ सय ८३ प्रतिशत बढी जरिवाना संकलन गर्न सफल भएको पनि विभागले जानकारी दिएको छ । आर्थिक वर्ष २०७९–८० मा जरिवाना ९९ करोड ३६ लाख २९ हजार ९ सय २६ असुलका लागि अदालतमा अभियुक्तहरूलाई बुझाएको थियो । फैसला कार्यान्वयनको हिसाबले हेर्ने हो भने नेपाल प्रहरीले हरेक वर्ष सोचेभन्दा ठूलो सफलता हासिल गर्दै आएको पनि विभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा अदालतको आदेशपछि फरार रहेका १४ हजार ७ सय ६४ जना अभियुक्तमध्ये १० हजारभन्दा बढी बैंकिङ कसुरमा सजाय पाएर फरार रहेका अभियुक्त रहेको पनि विभागको तथ्यांकबाट देखिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण आएको मन्दीका कारण विभिन्न पेसा र व्यवसायमा संलग्न रहेका व्यक्तिहरूको आर्थिक कारोबार डामाडोल बन्दै गएपछि बैंकिङ कसुर गर्ने अभियुक्तको संख्या वृद्धि भएको पनि विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा देशभर २० हजार ९ सय ३४ वटा लैंगिक हिंसाका घटनाको उजुरी देशभरका प्रहरी कार्यालयमा दर्ता भएको देखिन्छ । प्रहरीमा दर्ता भएका उजुरीमध्ये प्रहरीले अनुसन्धान गरेर अदालतमा ४ हजार ५ सय १२ वटा मुद्दा दर्ता गरेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा लैंगिक हिंसाको घटना शून्य दशमलव १० प्रतिशतले बढेको पनि विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा लैंगिक हिंसाका उजुरी प्रहरीमा २० हजार ९ सय १३ वटा परेकोमा प्रहरीले उजुरीका आधारमा अनुसन्धान गरी ४ हजार ३ सय ९४ वटा मुद्दा विभिन्न अदालतमा दर्ता गरेको देखिन्छ ।

बैंकिङ कसुरका बढी

अदालतको आदेशपछि फरार रहेका १४ हजार ७ सय ६४ अभियुक्तमध्ये १० हजार बढी बैंकिङ कसुरमा सजाय पाएर फरार रहेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण र आर्थिक मन्दीका कारण विभिन्न पेसा र व्यवसायमा संलग्न रहेकाको आर्थिक कारोबार डामाडोल बन्दै गएपछि बैंकिङ कसुर गर्ने अभियुक्तको संख्यामा वृद्धि भएको हो ।