संसारभर सुनिने गर्ल्स ब्यान्ड ब्ल्याक पिंक


साउथ कोरियन युवतीको सांगीतिक समूह ब्ल्याक पिंक हाल विश्वमा चर्चित ब्यान्डको रूपमा परिचित छ। यो के पप ब्यान्डमा जिसो, जेनी, रोजी र लिसा गरी चार सदस्य रहेका छन् । यो ब्यान्ड संसारमा सबैभन्दा बढी सुनिने युवतीको ब्यान्ड हो। विश्वका अन्य मुलुकजस्तै नेपालमा पनि विशेषगरी किशोरकिशोरी ब्ल्याक पिंकको फ्यान रहेका छन्। नेपाली युवामा ब्ल्याक पिंकको गीत संगीत र फेसनको प्रभाव गहिरो रहेको छ।

स्पोटीफाईमा एक अरब पटक सुनिने पहिलो महिलाको पप ब्यान्ड ब्ल्याक पिंक हो । ब्ल्याक पिंकको नामको पिंक शब्दले सुन्दरता र स्त्रीत्व जनाउँछ ।ब्ल्याक पिकंको पिंक भेनम सन् २०२२ मा २४ घन्टामै सर्वाधिक भ्युज कमाउने म्युजकि भिडियो बनेको थियो। रिलिजको २४ घण्टामै यसले साँढे आठ करोडभन्दा बढी भ्युज पाएको थियो।

ब्यान्डमा आबद्ध हुनुभन्दा अघि ब्यान्डकी प्रमुख भोकलिस्ट जिसो एलजी, निकोन स्याम्सोनाइटजस्ता विद्युतीय सामानको विज्ञापनमा काम गर्थिन् ।ब्यान्डकी मुख्य डान्सर तथा सदस्य लिसा १६ मिलियन फलोअर्ससहित इन्स्टाग्राममा सर्वाधिक पछ्याइने केपप स्टार हुन्। ब्ल्याक पिंकको सर्वाधिक हेरिएको गीत डु डु डु डु हो। यो बिलबोर्डको हट हन्ड्रेड गीतको ५५औं नम्बरमा छ।

हाल यो ब्यान्ड यतिको चर्चामा छ कि, सायद यो ब्यान्डलाई नसुन्ने संगीत पारखी भेटिँदैनन् । तर, सन् २०१६ खुलेको यो ब्यान्डले २० वटा गीत निकाल्दासम्म बिलबोर्डको सूचीमा अटाउन सकेको थिएन । उनीहरूको गीत किल दिस लभ रिलिज भएपश्चात् उनीहरूले कहिल्यै पछाडी फर्कनुपरेन । क्यालिफोर्नियामा आयोजना हुने कोएचिला फेस्टिभलमा प्रस्तुति दिने ब्ल्याक पिंक पहिलो कोरियाली गर्ल ब्यान्ड हो। लिसा सामाजिक सञ्जालमा सबैभन्दा धेरै मेन्सन गरिने ब्यान्डका सदस्य हुन् ।

ब्ल्याक पिंक २४ घण्टामा सबैभन्दा बढी हेरिएको म्युजिक भिडियो हो र सबैभन्दा बढी सस्क्राइब भएको महिला पप ग्रुपको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम रहेको छ । ब्ल्याक पिंकको ह्विसल बोलको गीतले केवल एक सय ३८ दिनमा सय मिलियन भ्यू कमाएको थियो।