अरजित सिंह धनाढ्य गायक


अरजित सिंह पछिल्लो समयका चर्चित भारतीय पाश्र्व गायक हुन् । सन् १९८७ मा भारतको जियागन्ज अजिमगम्जमा जन्मिएका उनी सानैदेखि संगीतमा रुची राख्थे । सन् २००५ मा गुरु राजेन्द्रप्रसाद हजारीको जोडमा १८ वर्षकै कलिलो उमेरमा फेम गुरुकुलनामक गायन रियालिटी शोमा भाग लिएका उनी छैटौं स्थानबाट बाहिरिएका थिए। किङ अफ प्लेब्याकको उपनाम पाएका उनले स्कुल लेभलमा नै आफ्नो पहिलो गीत रचना गरेका थिए। फरक किसिमको गायनकलाका कारण संसारभर उनका कयौं फ्यान रहेका छन्।

अरजितलाई फिल्म निर्माता सञ्जय लीला भन्सालीले आफ्नो फिल्म साँवरियामा यू शबनमी गीत गाउन अफर गरे पनि पछि फिल्मको पटकथा फेरिएपछि अरजितले गीत गाउन पाएनन् ।फेम गुरुकुलपछि, टिप्स म्युजिकको प्रमुख कुमार तौरानीले उनलाई एक एल्बमका लागि हस्ताक्षर गरेका थिए, तर त्यो पनि पूरा भएन ।

अरजित दोस्रो रियालिटी शो १० के १० ले गए दिलमा भाग लिएर शोको विजेता बनेका थिए । सो कार्यक्रममा जितेको दश लाख रुपियाँबाट उनले आफ्नै संगीत स्टुडियो खोलेका थिए । उनी विज्ञापन, समाचार च्यानल र रेडियो स्टेसनका लागि संगीत रचना गर्थे ।

सन् २०११ मा फिल्म मर्डर २ को फिर मोहबत बोलको गीत गायनबाट बलिउड प्रवेश गरेका उनले सो गीतबाटै लोभलाग्दो लोकप्रियता हासिल गरेका थिए । सो गीत सन् २००९ मा नै रकेर्ड गरिएको थियो। त्यस्तै, फिल्म आशिकी २ को मेरी आशिकी अब तुम् ही होले उनलाई चर्चाको चुलिमा पु¥याएको थियो।

सन् २०१३ मा एक अन्तर्वार्तामा मसँग कुनै पनि सवारीसाधन छैन र म रेकर्डिङका लागि बस र रिक्सामा यात्रा गर्छु भनेका उनीसँग हाल करोडौं मूल्य पर्ने प्रतिष्ठित ब्रान्डका तीनओटा कार छन् ।

अरजितले आफ्नो सुरुआती चरणमा सह संगीतकारको रूपमा काम गरेका थिए। एक समय उनी निकै लामो कपाल र दाह्री पाल्ने गर्थे। उनलाई यसको कारण सोद्धा मुम्बईमा कपाल र दाह्री काट्ने समय नै नभएको बताउँथे।
उनी एउटा गीत गाएको पारिश्रमिक १५ देखि २० लाखसम्म लिने गर्छन् भने कन्सर्टमा भने पाँच ५ करोडसम्म पारिश्रमिक लिने गर्छन् ।

उनी बलिउड पाश्र्व गायक केके अर्थात् स्व. कृष्णकुमार कुन्नाथका फ्यान हुन्।उनी चार सय १४ करोड भारतीय रुपियाँबराबरका मालिक हुन् भने धनाढ्य भारतीय गायकमध्ये एक हुन्।