युट्युबर मिस्टर बिस्ट : जेन जेड पुस्ताका लागि रोल मोडेल


अमेरिकी युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसन विश्वकै सबैभन्दा बढी सब्सक्राइबर भएका अमेरिकी युट्युबर हुन् । गत जुनमा मात्रै भारतीय म्युजिक लेबल टी–सिरिजको कीर्तिमान तोड्दै मिस्टर बिस्ट विश्वको पहिलो नम्बरको अर्थात् विश्वमै सर्वाधिक पछ्याइने युट्युब च्यानल बन्न सफल भएको हो ।

सन् १९९८ को मे ७ मा अमेरिकाको कन्सासमा जन्मेका जिमीले १३ वर्षको उमेरमा युट्युबमा आफ्नो पहिलो भिडियो अपलोड गरेर युट्युबरको आफ्नो यात्रा शुरू गरेका थिए । फरकफरक सामग्री, अनलाइन च्यालेन्ज, परोपकारी कार्य र ठूला रकमको पुरस्कारहरू वितरण गर्ने कार्यक्रम चलाएर उनले आफ्नो युट्युबमा सब्सक्राइबर संख्या ३० करोड ४० लाखभन्दा बढी पु¥याइसकेका छन् ।

आधुनिक युगका परोपकारी युट्युबरको रूपमा परिचित मिस्टर बिस्टले मनोरञ्जन र समाजसेवामा क्रान्तिकारी परिवर्तन पनि ल्याएका छन् । उनको सामग्रीमा सिर्जनात्मकता, समाजप्रतिको जिम्मेवारी र परोपकारको उदाहरण पाइन्छ, जसले भविष्यका युवा उद्यमी र समाजसेवीहरूलाई पनि प्रेरित गर्दछ ।

उनको समूह गत डिसेम्बरमा नेपाल आएको थियो । उक्त समूहले गिभ पावर नामक सामाजिक संस्थासँग मिलेर सिन्धुलीको फिक्कल गाउँपालिकास्थित अस्पतालको मर्मत गरेको भिडियो पनि मिस्टर बिस्टले युट्युबमा अपलोड गरेका छन् । एक घण्टा लामो सीधा प्रसारण, घर किन्नका लागि पैसा दिने र मानिसहरूको जीवन परिवर्तन गर्ने योजनाहरू उनका केही चर्चित भिडियोहरू हुन् ।

केही परोपकारी र समाजसेवाका कार्यहरू :

-मिस्टर बिस्टले मार्क रोबेरसँग मिलेर सन् २०१९ मा ‘टिम ट्रिज’ अभियानअन्तर्गत २ करोड अमेरिकी डलर उठाउन सफलता प्राप्त गरेका थिए । यो अभियान विश्वलाई पर्यावरणीय संरक्षणको महत्वबारे जागरुक बनाउने उद्देश्यका साथ विश्वभरि २ करोड रूख रोप्ने लक्ष्यका साथ शुरू गरिएको थियो ।

  • सन् २०२० को अक्टोबर १७ मा ‘वान मिलियन इन्फ्लुयन्सर टुर्नामेन्ट’को आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा विभिन्न इन्फ्युयन्सरहरूले भाग लिएका थिए र जितेको रकम परोपकारी संस्थालाई लागि चन्दा दिइएको थियो ।
  • समुन्द्र र नदीबाट ३ करोड पाउन्ड फोहोर हटाउने लक्ष्यका साथ सन् २०२१ मा अर्को अभियान ‘टिम सिज’को आयोजना गरिएको थियो । समुन्द्री प्रदूषणविरुद्धको उक्त अभियानमा ठूलो जनसमुदायको सहभागिता रहेको थियो ।
  • मिस्टर बिस्टले आफ्नो च्यानलमार्फत् धेरै पटक खाना वितरण अभियान सञ्चालन गरेका छन् । उनले लाखौं डलर बराबरको खाना विभिन्न खाना वितरण केन्द्र र आश्रय स्थलहरूमा दान गरेका छन् ।
  • आर्थिक सहायता, खाना वितरण र आपतकालीन राहत प्रदान गर्न बिस्ट फिलान्थ्रोपी नामक परोपकारी संस्थाको पनि स्थापना गरिएको छ ।
  • मिस्टर बिस्टका भिडियोहरूमा विभिन्न समुदायहरूलाई सहयोग गर्ने र साना व्यवसायहरूलाई आर्थिक रूपमा सुदृढ पार्ने कार्यहरू पनि समेटिएका हुन्छन्।
https://youtu.be/4SNThp0YiU4