बीपी क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ


चितवन ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिँदै गर्दा पक्राउ परेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। अख्तियारको टोलीले उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।

अख्तियार टोलीले दिएको जानकारी अनुसार कोइराला भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटेलबाट पक्राउ परेकी हुन्।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरिएको अख्तियार हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए।