सुकु हत्या पक्राउ प्रकरण: होटलमा फर्जी नामले उम्किए, आइफोन बेचेपछि समातिए


पोखरा ।

गत मंसिर पाँच गते पोखराको नागढुंगास्थित युनिक होटलमा सुकु विकको रहस्यमय मृत्युले कास्की प्रहरीलाई टाउको दुखायो । तनहुँकी सुकुको पोखराको होटलमा मृत फेला पारेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रारम्भिक रूपमै प्रहरीले हत्याको आशंका गर्दै बागलुङ गलकोट–९ मल्मका सञ्जय विकमाथि प्रहरीको नजर भए पनि आवश्यक प्रमाण नहुँदा पक्राउ गर्न असफल भएको थियो ।

सो बीचमा सञ्जय भारततर्फ फरार भए, बीचमा नेपाल आए र लुकेर बसे । हत्यापश्चात् सुकुको साथमा रहेको मोबाइल (आइफोन), सुनको औंठी लिएर फरार सञ्जय नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा डेरा गरी बसेको थाहा पाएपछि साउन २ गते पक्राउ गरियो । उनी पक्राउ परेपछि प्रहरीले होटलमा उनले नामसमेत फरक लेखाएको भेटियो।

‘अनुसन्धानको क्रममा एउटा के खुल्न आयो भने एउटा आर्यन मूलको जस्तो देखिने द नर्थ फेस लेखेको निलो रंगको ज्याकेट लगाएको व्यक्तिले आफ्नो नाम राजन गुरुङ भनी होटल युनिकको कोठानम्बर २०२ लिएको अभिलेखमा लेखेको थियो’, एसपी मोहनकुमार थापाले भन्नुभयो– ‘त्यो कोठामा एउटा बियर (प्रयोग नभएको) र दुईवटा जुस र ग्लास फेला परेको थियो। अनुसन्धान गर्दै जाँदा सुकुको साथमा रहेको आइफोन १३ प्रोम्याक्स र सुनको सिक्री लिएर गएको भेटिएको थियो ।’

उक्त आइफोन राजेश बुढाथोकीलाई ४० हजार पाँच सयमा बेचेको खुलेको थियो। त्यसपछि बल्ल प्रहरीले घटनाको क्लु फेला पारेको हो । ‘आइफोन बेचेपछि हाम्रो अनुसन्धानको मुख्य लिंक भेटियो। राजेश बुढाथोकीलाई पक्राउ गरियो त्यसपछि बल्ल सञ्जय विक हो भन्ने पत्ता लाग्यो’ –एसपीले भन्नुभयो।

प्रहरीले आइफोनको अनुसन्धान गर्दा त्यहाँ फोटो खिचेको भेटेपछि सञ्जयले नै हत्या गरेको पुष्टि भएको हो। पोस्टमार्टम रिपोर्टमा सुकुको हत्या घाँटी थिचेर भएको उल्लेख छ। होटल सञ्चालक, आफन्त र देख्नेले सनाखत गरेपछि उनीविरुद्ध मुद्दा चलेको हो । सञ्जयको सुकुसँग सम्पर्क भने विजय परियारबाट भएको थियो। हत्या स्विकारे पनि उनले अनुसन्धानमा बिहे गर्ने कुरासमेत चलेको बताएको एसपीले सुनाउनुभयो।