होटलमा  महिलाहरु राखेर अनैतिक कार्य गराउने दुईजना प्रहरीको नियन्त्रणमा


बारा ।

  होटलमा महिलाहरु राखेर उनीहरूलाई अनैतिक कार्य गर्न लगाउने गेस्टहाउस सञ्चालकलाई  प्रहरीले पक्राउ गरेको छ । बाराको  कलैया उप-महानगरपालिका  ५ स्थित  घुसुकपुरमा सञ्चालित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा सञ्चालकले बिभिन्न ठाउँहरूबाट महिलाहरू बोलाई   वेश्यावृतीको कार्य गराएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई मंगलबार  नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा गेस्टहाउस सञ्चालक ३० वर्षीय  श्याम सुन्दर प्रसाद यादव र पर्साको  वीरगन्ज महानगरपालिका वडा न. २९ मुसैली टोलमा बस्ने वर्ष २० को युवक रहेका छन्। 

उनीहरुले बिभिन्न ठाउँहरूबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृतीको कार्य गराउँदै आएको खुलेको छ।   पक्राउ परेका  उनीमाथि  वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर मुद्दा दर्ता गरी  जिल्ला अदालत बाराबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

पीडित  ४ जना महिलालाई भने उद्धार गरिएको प्रहरीको भनाइ छ।