बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

1.41k
Shares

बागलुङ ।

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि बागलुङको जैमिनीवासी आजित बनेका छन्।

जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन्।

उनले भनिन्, ‘यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ। बाँदरले बोट नै सखाप पारिदिन थालेको छ। बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ। पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न।’

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एक जना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए। पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको उनले बताए।

‘पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो। आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ। बारीको बाली एकैछिनमा नष्ट गरिदिन्छन्, हामीहरू कता जाने भन्ने भइसक्यौँ,’ उनले भने। बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन्। जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । योजनाले भने सार्थकता पाउन सकेको छैन।

Skip This