बाढी र पहिरोले लुम्बिनीमा एक जनाको मृत्यु, एक  बेपत्ता 

दर्जन बढी सडक अवरुद्ध 

2.35k
Shares

 बुटवल। 

शुक्रबारदेखि परेको अविरल वर्षासँगै बाढी र पहिरोले लुम्बिनी प्रदेशमा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ  । शनिवार बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् ।

खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।

खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो । लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिरोसहित खसेको ढुंगाले घर पुरिएको छ । गएराति खसेको ढुंगाले पुरिँदा स्थानीय मिना विकको जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले बताए । रामपुर नगरपालिका–९ मधुकोटमा पहिरोले गोठ पुरिँदा पशुचौपाया मरेका छन् । स्थानीय कमलबहादुर साठीघरेको शनिवार बिहान ५ बजे माथिबाट खसेको पहिरोले एक तले कच्ची गोठ पुरिदा भैंसीको पाडी, २ वटा बाख्राका पाठी र एक वटा खसी परिएर मरेको हो । गोठ पूर्णरुपमा क्षतिग्रस्त भएको र करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सुकेको ठुंटेपिपलको रुख ढल्दा रम्भा २ फोक्सिङ्गकोटको निर्माणाधीन वडा कार्यालय भवनमा क्षति पुगेको छ । निर्माण कामदार रम्भा ३ घोङसिङका १९ वर्षीय शिव गाहा र डोजर अप्रेटर इन्द्र रानाको टाउको र अनुहारमा चोट लागेको छ ।

गुल्मीमा रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र–३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । अविरल वर्षका कारण आएको पहिरोले गर्दा लुम्बिनी प्रदेशका  यी सडकहरु बन्द भएका छन ।

पहिरोका कारण बुटवल पाल्पाको सिद्धार्थ राजमार्ग, पाल्पा गुल्मी सडक, गुलमीको कालिगण्डकी कोरिडोर, रिडी वाग्लुगं सडक,  सन्धीखर्क गोरुसिगे सडक, पाल्पा अर्घाखाची सडक, रप्यूठानको स्याउलीवाङ वागदुला सडक, दाङ प्यूठान सडक रोल्पाको शहिद मार्ग  सडक र दाङको घोराही तुल्सीपुर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ ।

 बाढीले बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।

Skip This