समाजको बद्लिँदो धारणा उजागर हुँदै 

रुद्री पढाइमा व्यस्त दलित समुदायका विद्यार्थी



हेटौंडा ।

बाराका १४ वर्षीय सक्षम पौडेल संस्कृत भाषा पढ्नकै लागि हेटौंडा–१८, हर्नामाडीस्थित ठूलोदमारमा रहेको वैदिक वानप्रस्थ आश्रम आइपुग्नुभएको छ।

यसअघि बाराको पथलैया–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा–८ मा पढ्दै गरेका पौडेल वैदिक संस्कृत गुरुकूलम् सञ्चालन हुन लागेको खबर सुनेपछि ज्योतिष बन्ने लक्ष्यका साथ बुबाको सहयोगमा आश्रम आइपुगेको बताउनुहुन्छ।

सोही आश्रममा काठमाडौंको अरुणिमा शिक्षा सदन सेकेन्डरी स्कुलमा कक्षा–५ मा पढ्दै गरेका दलित समुदायका १३ वर्षीय सक्सेस सेञ्चुरी पनि हजुरबुबाले जस्तै संस्कृत पढ्ने सपना बोकेर पुगेका छन् । सर्लाही–५, लालबन्दीका सेञ्चुरीका बुबाआमा र एकजना बहिनी भने काठमाडौंमै बस्छन् ।

वैदिक वानप्रस्थ आश्रममा ब्राह्मण समुदायभन्दा बढी दलित समुदायका बालबालिका अध्ययनरत् छन्। उदयपुर, सर्लाही, पथलैया, हेटौंडाका गरी कुल १५ बालबालिकामध्ये १३ जना दलित समुदायका बालबालिका छन्। यसरी दलित समुदायका बालबालिका संस्कृत भाषा पढिरहेको कुराले समाज बदलिँदै गरेको धारणा उजागर गरेको छ।

डेढ महिनादेखि आश्रम आइपुगेका १४ वर्षीय सम्राट दुरैली पनि दलित समुदायका हुन् । हेटौंडा–३, बसामाडीमा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालयको कक्षा–६ मा पढिरहेका दुरैली आश्रममा समावेशी रूपमा संस्कृत भाषा पढ्न पाउने थाहा पाएपछि ज्योेतिष विज्ञान अध्ययनका लागि आश्रम आउनुभएको हो । त्यहाँ अध्ययनरत् विद्यार्थीहरू बिहान÷बेलुका कक्षा कोठामा स्वरमा स्वर मिलाएर मन्त्रोच्चारण गर्छन्, रुद्रीपाठ सिक्छन्।

कर्मकाण्डका ती विद्यार्थी आफूले किताबमा पढेका विषयबारे व्यावहारिक ज्ञान लिन्छन् । अग्निस्थापना तथा रुद्राभिषेकको तयारीका लागि विद्यार्थीहरू समूहमा बाँडिन्छन् । कोही रेखी बनाउने, कोही मण्डप सजाउने, कोही दियो–कलश सजाउने, कोही गणेश स्थापना गर्ने काममा व्यस्त हुन्छन् । केही विद्यार्थी रुद्रीपाठ गरिरहेका हुन्छन् । कोही वेद त केही चण्डीपाठ गर्न व्यस्त देखिन्छन् । गज्जब देखिन्छ आश्रमको माहोल।
विद्यार्थीलाई चार वेद, अग्नि संस्कार, शिवस्थापना, रेखी बनाउने, दियो स्थापना, मण्डप पूजा, कलश स्थापना तथा गणेश पूजाबारे मन्त्रोच्चारणसहित विधिपूर्वक पूजा गर्न प्रयोगात्मक रूपमा ज्ञान दिइन्छ। आश्रितहरूले पूजाको सुरुआत र समापनसम्मका सम्पूर्ण विधिविधानबारे व्यावहारिक ज्ञान पाउँछन्।

यसअघि ज्योति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको जीर्ण भवन मर्मतसम्भार गरेर संस्कृति र संस्कार जोगाउने उद्देश्यले वैशाखदेखि आश्रम सञ्चालनमा ल्याइएको वैदिक वानप्रस्थ आश्रमका प्रधानाध्यापक खगेन्द्र कोइरालाले बताउनुभयो।

आश्रममा सामुदायिक विद्यालयमै पठनपाठन हुने ५ सय पूर्णाङ्कका विषय अध्यापन गराइन्छ भने २ सय पूर्णाङ्कको संस्कृत व्याकरण र संस्कृत साहित्य अध्यापन गराइन्छ। नेपाली, गणित, विज्ञान, सामाजिक र अंग्रेजी विषय अध्यापन गराउने गरिएको छ। आश्रमले कक्षा–६ देखि ८ सम्मका लागि अध्यापन अनुमति प्राप्त गर्न बाँकी छ। यसका लागि आश्रम नगरपालिकाको निर्णयको प्रतीक्षामा छ। वडाध्यक्ष अनिल बानियाँका अनुसार उक्त आश्रम वडाको ‘ड्रिम प्रोजेक्ट’ हो।

बिहान ११ बजेदेखि ३ः३० बजेसम्म पठनपाठन गराउनुपर्ने तालिका बनाएको आश्रममा आर्थिक अभावले समस्या भएको प्रधानाध्यापक कोइरालाले बताउनुभयो। शिक्षकलाई बिनापारिश्रमिक खटाउनु पर्दा समयमै शिक्षक उपस्थित नहुने र कहिलेकाँही त शिक्षक नआइदिँदा पठनपाठनमा समस्या हुने गरेको उहाँले बताउनुभयो।  आश्रममा खाद्य सामग्री, शैक्षिक सामग्री पनि अभाव भएकोले दातासँग सहयोगको अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्