गर्मीका कारण भारतमा ३२० भन्दा बढीको मृत्यु, सबैभन्दा बढी उत्तर प्रदेशमा



एजेन्सी।

गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो ।

यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । यूपी–बिहारमा शुक्रबार मात्र कम्तीमा ४० जनाको मृत्यु भएको खबर छ । जसमध्ये २५ जना लोकसभा चुनावी काममा खटिएका कर्मचारी र अधिकारीहरू छन् ।

पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ । झारखण्डमा १ हजार ३ सय २६ जना अस्पतालमा भर्ना भएका छन् । धेरै ठाउँमा हिटस्ट्रोक वार्डमा खाली ठाउँ छैन् ।

आज १४ राज्यमा तातो लहरको चेतावनी

भारतको मौसम विभागका अनुसार शुक्रबार देशमा सबैभन्दा बढी ४८.२ डिग्री सेल्सियस तापक्रम कानपुरमा रेकर्ड गरिएको छ । दोस्रो स्थानमा हरियाणाको सिरसा रहेको छ भने यहाँको तापक्रम ४७.८ डिग्री सेल्सियस रहेको छ । दिल्लीको आयानगरमा तापक्रम ४७ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

शनिबार (जून १) मा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिशा, महाराष्ट्र, मध्य प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, उत्तराखण्ड, आन्ध्र प्रदेश र हिमाचलमा तातो लहरको सम्भावना रहेको छ । मध्यप्रदेश, उत्तर प्रदेश र ओडिशामा दिउँसो र राति गर्मी रहनेछ । गोवा, तेलंगानामा पनि तातो लहरको को सम्भावना छ ।

यता निर्धारित समयभन्दा ६ दिन अगावै मनसुन पश्चिम बंगालमा पुगेको छ । विभागले जुन ६ सम्म मनसुन राज्यमा प्रवेश गर्ने भविष्यवाणी गरेको थियो । मनसुन चाँडो आउनुको कारण पश्चिम बंगाल र बंगलादेशमा २६ मेमा आएको रेमल चक्रवात रहेको बताइएको छ ।

विभागले कुचबिहार, जलपाईगुडी, अलिपुरद्वार, कालिम्पोङ र दार्जिलिङका उप–हिमाली जिल्लाहरूमा आगामी पाँच दिनमा वर्षा हुने र एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । उत्तर बंगालमा राज्यका अलिपुरद्वार (४५ मिमी), जलपाईगुडी (४५ मिमी) र कुच बिहार (२८ मिमी) स्थानहरूमा शुक्रबार बिहान पानी परेको थियो ।

कोलकातालगायत दक्षिण बङ्गालका जिल्लाहरूमा आगामी तीन दिनसम्म हावाहुरी र वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ । कोलकातामा ६५ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ । पश्चिम बंगालभन्दा पहिले मे ३० मा मनसुन केरला पुगेको थियो । मनसुन जुन २७ सम्ममा दिल्ली पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि ३० मे २०१७ मा मोरा चक्रवातका कारण मनसुन निर्धारित समयभन्दा अगावै आइपुगेको थियो । मनसुन सामान्यतया जुन १ मा केरलामा प्रवेश गर्छ र जुन ५ सम्ममा देशका अधिकांश भागलाई समेट्छ ।

प्रतिक्रिया दिनुहोस्