भारत लोकसभाको अन्तिम चरणको मतदान आज 



 काठमाडौँ । 

भारतको लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदान आज हुँदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।

यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार सातौँ चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् ।

५४२ लोकसभा सीटहरूको छैटौं चरणसम्म ४८५ सीटको लागि मतदान भइसकेको छ । जुन १ मा अन्तिम ५७ सिटमा मतदान हुनेछ ।

अहिलेसम्म गुजरातको सूरतबाट बीजेपीका उम्मेदवार मुकेश दलाल निर्विरोध निर्वाचित भएकाले ५४२ सिटमा मात्रै मतदान भइरहेको छ ।

यस चरणमा वाराणसी सबैभन्दा भिआइपी सिट हो । प्रधानमन्त्री मोदी विगत १० वर्षदेखि यहाँ सांसद छन् । उनी तेस्रो पटक ठूलो मतान्तरले जित्ने लक्ष्यमा छन् । यसपटक यहाँबाट प्रधानमन्त्री मोदीविरुद्ध ६ जना मात्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।

सुरुमा १४१ जनाले उम्मेदवारी दिएका थिए ।  मोदीविरुद्ध अजय राय कांग्रेस–सपा र भारतीय गठबन्धनबाट चुनाव लडिरहेका छन् तर पछिल्ला तीन चुनावमा उनी ठूलो मतान्तरले पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्