यमनमा अमेरिका र बेलायतको संयुक्त हवाई आक्रमण, १४ जनाको मृत्यु



एजेन्सी।

इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने (कार्गो) जहाजहरूमा आक्रमण गर्दै आएको थियो ।

एएफपीका पत्रकारहरूले बिहीबारदेखि शुक्रबारसम्म राजधानी साना र बन्दरगाह सहर होडैडामा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।

हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै तीस जनाभन्दा बढी घाइते भएको बताएको छ ।

रेड सी र एडनको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमणहरू जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधाविरुद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ ।

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाको रक्षा गर्न, आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न, र अन्तर्राष्ट्रिय पानीलाई अधिक सुरक्षित बनाउन आवश्यक थियो तसर्थ कुल तेह्र वटा हुथी–नियन्त्रित स्थलहरू लक्षित आक्रमण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्