भारतमा झन् गर्मी, मृत्यु हुनेको संख्या ५१ पुग्यो



काठमाडौं ।

भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरू तोडिरहेको छ।

मंगलबार राजस्थानको चुरुमा देशकै उच्च तापक्रम ५० दशमलव ५ डिग्री पुगेको थियो। यसअघि राजस्थानको फलोदी लगातार तीन दिनसम्म देशकै सबैभन्दा तातो सहर बनेको थियो। यहाँको तापक्रम शनिबार ५० डिग्री, आइतबार ५१ डिग्री र सोमबार ४९ दशमलव ४ डिग्री रहेको थियो। मंगलबार राजस्थानमा गर्मीका कारण १६ जनाको मृत्यु भएको छ । राज्यमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, दिल्लीलगायत १२ राज्यका ७८ स्थानमा ४५ डिग्री वा सोभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो। सोमबार देशका १० राज्यका ७५ स्थानको तापक्रम ४५ डिग्री वा सोभन्दा बढी थियो । मंगलबार प्रयागराजको तापक्रम ४८ दशमलव २ डिग्री पुगेको थियो। ३० वर्षअघि सन् १९९४ मा यहाँ ४८ दशमलव ४ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।

त्यहाँको मौसम विभागले बुधबार पञ्जाव, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेशमा गर्मीको लहरको रेड अलर्ट जारी गरेको छ। यसबाहेक जम्मु डिभिजन, हिमाचल प्रदेश, महाराष्ट्रका केही भाग, छत्तीसगढ, विहार, झारखण्ड र ओडिसाका एकान्त स्थानहरूमा पनि गर्मीको लहर आउने सम्भावना छ।

अर्कोतर्फ, रेमाल आँधीका कारण सबै उत्तरपूर्वी राज्यहरू असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरामा मे २९ देखि जुन १ सम्म भारी वर्षाको सम्भावना रहेको छ । यहाँ वर्षाका लागि रेड अलर्ट जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्