हाम्रा लागि सबैभन्दा उत्तम सौभाग्य



दुईवटा कुरा छन् । एकदिन तपाईँ आउनुभयो अनि एकदिन तपाईँले जानुपर्ने हुन्छ । त्यसबीचमा जे–जति पनि हुनुपर्ने हो त्यो हुने नै छ । के हुन्छ भन्ने कुराचाहिँ तपाईँमै निर्भर रहन्छ । एउटा ढोकाबाट तपाईँ आउनुभयो । यो तपाईँमा निर्भर रहने विषय थिएन। अनि, अर्को ढोकाबाट तपाईँले निस्कनुपर्नेछ र यो विषय पनि तपाईँको नियन्त्रणभन्दा बाहिर छ।

यद्यपि, यसबीचमा भइरहेका सबै कुराहरू तपाईँमाथि नै निर्भर रहन्छन्। बितेको कुरा बिती नै सक्यो। समयले त कसैलाई पनि ‘बाई–बाई’ भनेर बिदा माग्दैन। ‘नमस्कार !’ पनि भन्ने होइन। समय त आउँछ र बितेर जान्छ। त्यो बितेर गएको समयका कारण तपाईँ दुःखी हुनुहुन्छ कि हुनुहुन्न? यदि दुःखी हुनुहुन्न भने तपाईँले त्यो समयसँग प्रेम गर्नुभएको थिएन ।

तपाईँ आफ्नो जीवनलाई प्रेम गर्नुहुन्छ या गर्नुहुन्न ? डाक्टरले तपाईँलाई ‘अब तिमीसँग एकदमै थोरै मात्र दिन बाँकी छ’ भन्यो भने मात्रै आफ्नो जीवनसँग प्रेम गर्नुहुने हो त ! डाक्टरले ‘तपाईँलाई यो रोग लाग्यो’ भनिदिए भने मानिसहरू भन्न थाल्छन्, ‘हे भगवान्, मलाई बचाउनुहोस् ।’ किनभने, यो जीवनलाई ख्यालै गरिएको हुँदैन। ‘मेरा घरपरिवारले के भन्छन् ! मेरा आफन्तले के भन्छन् ! मेरा छिमेकीले के भन्लान् !’ भन्ने कुरामा मात्रै ध्यान गइरहन्छ। उनीहरूका बारेमा एकदमै चिन्ता हुन्छ तर भगवान्ले के भन्छन् भनेर हामीले केही सोचेकै छैनौँ ।

आफन्त घरमा आए भने उनीहरूका लागि मीठो खाना तयार पारिन्छ । तर, यदि तपाईँले आफूले तयार पार्नुभएको खाना सुपर मार्केटबाहिर लगेर बेच्नुभयो भने अरूले खान्छन् र वाह ! वाह ! पनि भन्नेछन् अनि पैसा पनि दिनेछन् । आफन्तलाई खुवाउनुभयो भने उनीहरूले अवश्य खानेछन् । उनीहरूले खानाको प्रशंसा गरून् या नगरून् तर खानाका लागि पैसा दिँदैनन् । वास्तवमा हाम्रो उद्देश्य के हो ? हाम्रो उद्देश्य त उनीहरूलाई प्रभावित तुल्याउनु नै हो । सकेसम्म राम्रो घडी लगाउँछौँ । सकेसम्म राम्रो जुत्ता लगाउँछौँ । राम्रो कपडा लगाउँछौँ । सकेसम्म राम्रो शृङ्गार गर्छौँ । कतिपय मान्छेहरूले त अरूलाई प्रभाव पार्नका लागि नै भनेर भाडाको गाडीसमेत लिएर आउँछन् ।

भगवान्ले के भन्छन् ! तपाईँको हृदयले के भन्छ ? यसबारेमा तपाईँलाई केही मतलब नै छैन । किनभने, हामी भगवान्लाई त मनाउन सकिहाल्छौँ नि भन्ने ठान्छौँ । तर, जोसँग प्रेम छ र जोसँग प्रेम हुनुपर्छ, जोसँग नाता छ र जोसँग नाता हुनुपर्छ, के यो नाता बनाउनुभएको छ या छैन ? यदि बनाउनुभएको छैन भने तपाईँ यो संसारमा खाली हात आउनुभएको थियो अनि तपाईँले यो संसारबाट खाली हात नै फर्कनुपर्नेछ । तपाईँले आफूसँग कुनै पनि चीजलाई लैजान सक्नुहुन्न । मानसम्मानलाई पनि लैजान सक्नुहुन्न । ठूला मानिसहरू या कोही प्रसिद्ध अभिनेता छन् भने तिनको शरीर पूरा भएपछि तिनको पार्थिव शरीरमा अर्पण गर्नका लागि पूmलमाला लैजाने चलन छ। मैनबत्ती, फूल आदि लैजान्छन्। ती सबै चीजहरूलाई त्यो मृत शरीरको अगाडि अथवा उनको घरमा लैजाने चलन छ। के तपाईँलाई उनले ती चीजलाई आफैँसँग लैजान्छन् भन्ने लाग्छ ? होइन, ती सबै चीजबीजलाई फोहोरदानीमा हालिन्छ ।

तपाईँ कुन चीजको अंश हुनुहुन्छ ! यस कुरालाई बुझ्नु अत्यावश्यक छ । तपाईँ एउटा थोपो हुनुहुन्छ तर समुद्र होइन । तपाईँ समुद्र बन्ने कोशिश गरिरहनुभएको छ । तपाईँ थोपा रहेसम्म तपाईँमा एउटा समुद्र छ तर तपाईँ समुद्र होइन । अनि, प्रकृतिका सबै कानुन तिनै कानुन हुन्, जुन थोपोमा लागू हुन्छन् ।

हामीभित्र यो श्वास आउने–जाने क्रम चलिरहेसम्म तपाईँले यसलाई आफ्नो सौभाग्य र मूल्यवान् चीज ठान्नुहुन्न । तर, यही कुरा नै हाम्रा लागि सबैभन्दा उत्तम सौभाग्य हो । योभन्दा ठूलो सफलता त अरू केही पनि हुनै सक्दैन । यसलाई चिन्नुहोस्, बुझ्नुहोस् अनि जीवनमा स्वीकार गर्नुहोस् । त्यसपछि तपाईँको जीवन सफल हुनेछ ।

यदि यस्तो भएमा तपाईँको जीवनमा आनन्द नै आनन्द प्राप्त हुनेछ। तपाईंंभित्र यो श्वास आइरहेको छ र गइरहेको छ। यो तिनै सृष्टिकर्ताले तपाईंंमाथि गरेको कृपा हो। यदि तपाईंंले यस कृपालाई बुझ्न सक्नुभयो, पहिचान गर्न सक्नुभयो भने तपाईंंका लागि यो महत्त्वपूर्ण कुरा हुन्छ । यसै सन्दर्भमा एउटा कथा छ।

एकजना मानिस थिए । उनले ढुङ्गा फुटाउने काम गर्दथे । उनी हरेक दिन पहाडमा जान्थे । एउटा ठूलो ढुङ्गालाई फुटाउँथे । त्यसबाट स–साना मूर्ति र विभिन्न थरीका चीजहरू बनाएर बजारमा बेच्दथे। त्यसबाट नै उनले आफ्नो घर चलाउँथे । एकदिन उनले पहाडमा ढुङ्गा फुटाउँदै गर्दा सोचे– ‘मेरो जीवन कस्तो बेकामको रहेछ ! मैले कहिलेसम्म यस्तो गर्नुपर्ने होला ! यस्तो तरिकाबाट त मेरो उन्नति कहिले हुन्छ होला र !’

एकदिन उनी कतै जाँदै थिए । उनी निकै धनी मानिसको घरअगाडिबाट गइरहेका थिए । त्यो एकदमै भव्य महल थियो । त्यहाँ ठूलो भोजको कार्यक्रम भइरहेको पनि उनले देखे । धेरैजना पाहुनाहरूको जमघट थियो । गीत घन्किरहेको थियो । उनी मनमनै सोच्दै सृष्टिकर्तासँग प्रार्थना गर्न लागे– ‘यदि म पनि यस्तो धनी भइदिएको भए !’

भगवान्ले तुरुन्तै उनको इच्छालाई पूरा गरिदिए । त्यसपछि उनी धनी भए । अब उनीसँग प्रशस्त धन–सम्पत्ति र नोकरचाकरहरू पनि भए । ठूला–ठूला मानिसहरू उनलाई भेट्न आउन थाले। सबैजनाले उनको आदेश मान्न थाले। उनी त्यस शहरको सबैभन्दा धनी र शक्तिशाली मानिस भए। अब उनी धेरै खुशी थिए।

भोलिपल्टदेखि नै मानिसहरू आ–आफ्ना समस्या लिएर उनीकहाँ आउन लागे। उनलाई चिन्ता लाग्न थालेको थियो । यत्तिकैमा एकदिन सडकमा हल्ला भइरहेको थियो । उनले त्यहाँ गएर हेर्दा राजाको गाडी गइरहेको थियो। सबैजनाले राजालाई नमस्कार गरिरहेका थिए।

उनले सोचे, ‘राजालाई त मभन्दा पनि बढ्ता इज्जत गर्दा रहेछन् । राजा त मभन्दा पनि बढी शक्तिशाली रहेछन् ! त्यसपछि उनले भगवान्सँग प्रार्थना गरे, ‘यदि म राजा हुन पाएको भए !’

त्यस दिन पनि उनको इच्छा पूरा भयो । उनी राजा बने । अब राजा भएपछि त मानिसहरू उनका दायाँ–बायाँ सेवाटहल गर्न लागे। उनी जहाँ गए पनि मानिसहरूले उनलाई नमस्कार गर्दथे । यस्तो हुँदाहुँदै दिन बित्दै गए । एकदिन सेनापतिले आएर भने, ‘महाराज अर्काे राज्यको राजाले हाम्रो राज्यमा लडाइँ गर्न तयारी गरिरहेको खबर छ ।’ उनले सोचे, ‘ओहो ! राजा त बनेँ तर केही फाइदा भएन । यो त झन् झन्झट पो हुने रहेछ !’

एकदिन उनी बिहानै–बिहानै छतमा बसेर माथितिर हेरिरहेका थिए । यसो आकाशतिर हेरे । चम्किरहेको सूर्यतिर आँखा गयो । उनले सोचे, ‘सूर्य त चम्किरहेको छ । सबैलाई उज्यालो छरिरहेको छ । सूर्यलाई त कुनै समस्या पनि छैन । त्यो पो शक्तिशाली रहेछ ।’ उनले प्रार्थना गरे, ‘म पनि सूर्य हुन पाएको भए कति रमाइलो हुन्थ्यो !’

त्यस दिन पनि उनको इच्छा पूरा भयो । अब उनी सूर्य भएर चम्किन थाले । एकदिन उनी आकाशमा चम्किरहेका थिए । त्यसै बेला सूर्य र पृथ्वीको बीचमा बादल आइपुग्यो । बादल भएको ठाउँमा छाया पर्न थाल्यो । त्यसपछि उनलाई लाग्यो, बादल त सूर्यभन्दा पनि बलवान् हुँदो रहेछ ! यसले त सूर्यको प्रकाशलाई पनि छेक्न सक्ने रहेछ । ‘हे ! सृष्टिकर्ता ! मलाई बादलजस्तै बलवान् बनाइदिनुहोस् !’

उनको यो इच्छा पनि पूरा भयो । उनी बादल बने । बादल बनेपछि कहिले वर्षा गराउने, कहिले सूर्यको प्रकाशलाई छेक्ने गर्न थाले । यस्तो गर्दागर्दै उनलाई लाग्यो, ‘म निकै बलवान् भएको छु ! म त सूर्यलाई पनि छेक्न सक्छु ।’ उनी आफू बलवान् भएकोमा असाध्यै खुशी भइरहेका थिए ।

त्यही बेला उनलाई कसैले चलाइरहेको अनुभूति भयो। उनले सोचे, ‘हैन, म बादललाई चलाउने हिम्मत कसले गर्‍यो ? म त सबैभन्दा शक्तिशाली छु ! म त सूर्य, राजा र धनी मानिसभन्दा पनि शक्तिशाली छु । अनि, कुनचाहिँ यस्तो चीजले म बादललाई पनि चलाइरहेको छ ?’

हावाले उनलाई चलाइरहेको कुरा उनलाई थाहा भयो । त्यसपछि उनले सोचे– ‘हावा त बादलभन्दा पनि बलवान् रहेछ ।’ उनले फेरि प्रार्थना गरे, ‘ओहो म हावा हुन पाएको भए !’

तुरुन्तै उनी हावा भए । अब उनी सबै ठाउँमा जान थाले । रम्न थाले । उनलाई निकै रमाइलो लाग्न थाल्यो । बहँदै–बहँदै उनी एकदिन पहाडमा अचानक ठोक्किएपछि रोक्किए ! उनले जतिसुकै कोशिश गरे पनि चल्न सकेनन् ।

उनलाई लाग्यो, ‘यो को हो ? कसले मलाई रोकिरहेको छ ?’ अगाडि एउटा ठूलो पहाड उभिएको थियो । उनले सोचे, यो पहाड त हावाभन्दा पनि बलवान् छ । ‘ओहो ! बरु म पहाड हुन पाएको भए !’

त्यस दिन पनि उनको इच्छा पूरा भयो र उनी पहाड बने । उनले उठी–उठी केही सोच्न लागे, ‘अबचाहिँ, मभन्दा शक्तिशाली कोही पनि छैन । कसैले पनि मलाई हल्लाउन सक्दैन ।’

एकदिन उनी आफ्नो विचारमा मग्न थिए । त्यसै बेला उनको तलबाट कुत्रुक–कुत्रुक गर्ने एउटा आवाज आयो । उनलाई कसैले काटिरहेको छ भन्ने कुरा महसुस भयो । उनले सोचे, ‘मलाई पनि काट्न सक्ने बलवान् को रहेछ ?’

त्यसपछि उनले तलतिर हेर्दा त उनीजस्तै एउटा ढुङ्गा काट्ने मानिसले पहाडलाई फुटाइरहेको देखे । अनि, उनलाई महसुस भयो, आखिर उनी त पहिल्यै सबैभन्दा बलवान् रहेछन् तर उनी को हुन् भनेर आफूले आफैँलाई चिन्न सकेनन् ! यदि आफूले आफूलाई चिनेका भए उनले यो सबै झन्झट व्यहोर्नुपर्ने थिएन ।

त्यस्तै सोचले हामी पीडित हुन्छौँ । सबैभन्दा धेरै शक्ति त हामीभित्रै छ । बाहिरको शक्ति त केही पनि होइन । शक्ति त हामीभित्रै हुनुपर्दछ । शान्ति पनि हामीभित्रै हुनुपर्दछ, बाहिर होइन । तपाईंंले त्यसलाई अनुभव नगरेसम्म ‘तपाईंं को हुनुहन्छ’ भनेर आफूले आफूलाई पूर्ण तरिकाले चिन्न सक्नुहुन्न !’

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल।

प्रतिक्रिया दिनुहोस्