‘सिद्धान्त र नारामा अड्किने होइन, आवश्यकता र यर्थाथतालाई मनन् गर्दै आपसी हितका लागि अघि बढ्नुपर्छ’



काठमाडौं । 

भारतका भूराजनीतिक मामिलाविज्ञ प्राध्यापक सी राजामोहनले नेपाल र भारतबीच जतिसुकै समस्या रहेको भएता पनि दुई देशबीचको सम्बन्ध पछाडी धकेलिएको नभई अगाडि नै बढीरहको दावी गर्दै काठमाडौं र नयाँ दिल्ली मिलेर आर्थिक समृद्धिको बाटोमा अघि बढ्दै विश्व मञ्चमा सहकार्य गर्ने थुप्रै अवसरहरु रहेको बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले पूर्व परराष्ट्र सचिव एवं प्रसिद्ध कुटनीतिज्ञ प्राध्यापक यदुनाथ खनालको सम्मानमा मंगलबार साँझ आयोजना गरेको प्राध्यापक यदुनाथ खनाल प्रवचनको तेस्रो श्रृंखलामा प्रवचन दिने क्रममा प्रा. राजामोहनले यस्तो धारणा राख्नुभएको हो । उहाँले नेपाल र भारतबीच मात्र होइन, विश्वका कुनै पनि देशको आफ्ना छिमेकी देशसँग सीमालगायतका समस्याहरु रहेको जिकिर गर्दै ती समस्याहरुमा अल्झिनुभन्दा वार्ताद्वारा त्यसको समाधान खोज्दै राष्ट्र र जनताको दीर्घकालिन हित र आर्थिक समृद्धिको लागि सहकार्यलाई घनिभूत बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– ‘काठमाडौं र नयाँ दिल्लीले छिमेकी बेइजिङबाट सिक्नुपर्छ, चीनले आवश्यक्ताअनुसार रुस र अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ । सिद्धान्त र नारामा अड्किने होइन, आवश्यक्ता र यर्थाथतालाई मनन् गर्दै आपसी हितका लागि व्यवहारिक हुनुपर्छ । नारा त आवश्यक्ताअनुसार बनाउने हो, त्यसैमा टाँसिने होइन ।’ भारत र नेपालबीच असमान हैसियतका साथै थुप्रै विषमता रहेको अवस्थामा कसरी मिलेर अघि बढ्न सकिन्छ भनेर सोधिएको एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो– ‘समानता त कुनै दुई राष्ट्र मात्र होइन, दुई व्यक्तिमा पनि हुँदैन ।

यो त सामान्य प्राकृतिक नियम हो । कुनै राष्ट्र आकारमा ठूलो होला, कुनै आर्थिक हैसियतमा त कुनै भूराजनीतिक महत्वमा । त्यसैले समान हैसियत भएकोसँग मात्रै मिल्नुपर्छ भन्ने हुँदैन, आफ्नो स्थान आफैंले बनाउने हो, आफ्नो सामर्थ आफैंले पहिचान गरेर आपसी हितका लागि मिलेर अघि बढ्नु नै बुद्धिमानी हो ।’

कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुई देशबीच इतिहासले छाडेका केही मुद्दाहरुलाई ऐतिहासिक तथ्यका आधारमा असल छिमेकीको भावनाअनुरुप वार्ता र कुटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच द्विपक्षिय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको र यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज पनि भएको जिकिर गर्नुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले भारतसँगको उर्जा क्षेत्रको साझेदारी महत्वपूर्ण भएको बताउँदै व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको जानकारी पनि दिनुभयो । साथै उहाँले सूचना प्रविधिको क्षेत्रमा पनि दुई देशबीच सहकार्यका प्रशस्त सम्भावनाहरु रहेको जिकिर गर्दै भन्नुभयो– ‘युवा जमातलाई यसतर्फ आकर्षित गर्न शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक छ । नेपालको विकास र आर्थिक समृद्धि छिमेकी भारतको पनि हितमा छ ।’

नेपालको अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा योगदानस्वरुप सरदार पदवी पाउनुभएका प्रा. यदुनाथ खनालले दुई कार्यकाल परराष्ट्र सचिवको जिम्मेवारी बहन गर्नुभएका थियो भने चीन, भारत र अमेरिकाका लागि नेपालको राजदूत भएर पनि काम गर्नुभएको थियो । उहाँकै सम्मानमा परराष्ट्र मन्त्रालयले प्रा. यदुनाथ खनाल प्रवचन श्रृंखला शुरु गरेको हो । यो प्रवचनको पहिलो श्रृंखलामा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक सूर्यप्रसाद सुवेदी र दोस्रो श्रृंखलामा पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले प्रवचन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्