जेठ २ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन काठमाडौं महानगरको निर्देशन



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले मातहतका सबै संस्थागत विद्यालयलाई जेठ २ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ। महानगरले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण अनिवार्य पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको हो।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत् उक्त निर्देशन दिइएको जानकारी गराएका छन्। महानगरले शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निणर्य गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न निर्देशन दिएको छ।

नियमानुसार विवरण पेस नगर्ने विद्यालयलाई अनुमति रद्द या प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

विद्यालयले महानगरको पोर्टलमार्फत् फर्म भरी १० प्रतिशतले हुन आउने छात्रवृत्तिको संख्या भर्नुपर्ने छ। महानगरको विद्यालय शिक्षा नियमावलीअनुसार गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्