आचारसंहिता लागू गर्न विभिन्न संयन्त्र गठन



काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनलाई लक्षित गरी जारी आचारसंहितालाई कडाइका साथ लागु गर्न विभिन्न संयन्त्रहरू बनाएको छ ।

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा र बझाङको निर्वाचन क्षेत्र नं १ को (१) मा प्रदेशसभाको उपनिर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य राख्दै आयोगले आचारसंहिता पालना भएको नभएको अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउन संयन्त्र बनाएको हो। आयोग र जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालय गरी विभिन्न स्तरमा गठित विभिन्न संयन्त्रले आचारसंहिता पालना भए नभएको निगरानी बढाउने आयोगले जनाएको छ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको जानकारी दिँदै आयोगले सो आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म लागू हुने जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिताको पालनामा कडाइ गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजकमा गठित जिल्ला आचारसंहिता अनुगमन समितिलाई अनुगमनमा कडाइ गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। उहाँले समितिलाई आचारसंहिता उल्लंघनका घटनामा तत्काल आवश्यक कारबाही गर्न भनिएको जानकारी पनि दिनुभयो।

त्यसै गरी आयोगले सामाजिक संञ्जालको दुरुपयोग हुन सक्ने सम्बन्धमा विशेष सजगता अपनाएको छ। जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने आयोगले जनाएको छ। अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लंघनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरिएको छ।

आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने आचारसंहितामा उल्लेख छ ।

त्यसै गरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ।

आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ।

प्रतिक्रिया दिनुहोस्