काठमाडौं।
प्रभु केबुलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउन सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिको आवेदन मागेको छ ।
प्रतिस्पर्धाबाट छनोट हुने बिक्री प्रबन्धकले कम्पनी आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउनको सिलबन्दी आह्वान गरिएको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।
कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले हाल तीन वटा केबुलकार परियोजना अघि बढाएको छ । जसमध्ये बुटवलको सिद्धार्थ केबुलकार परियोजना सञ्चालनको अन्तिम तयारीमा छ । एक अर्ब रुपियाँको लागतमा तिनाउ नदी छेउको मणिमुकुन्द सेन फूलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केबुलकार निर्माण भएको छ ।
आन्तरिक पर्यटकदेखि तथा भारतीय पर्यटक लक्षित गरी निर्माण गरिएको उक्त केबलकार केही दिनभित्रै सञ्चालनमा आउने छ । सो केबलकारबाट नुवाकोटगढी, भैरवस्थानलगायतका ऐतिहासिक स्थानमा पुग्न सकिनेछ । बुटवलको आन्तरिक पर्यटनका लागि प्रख्यात नुवाकोट क्षेत्र केबलकार सञ्चालनपछि थप फस्टाउने स्थानीय व्यवसायीको भनाइ छ । केबलकार चढेरै बुटवल, भैरहवा, लुम्बिनीलगायत सीमावर्ती क्षेत्रको अवलोकन गर्न सकिने र तराईको गर्मी छल्न छोटो दूरीमै चिसो डाँडा पुग्न सकिने भएकाले पर्यटकको रोजाइ हुने विश्वास कम्पनीको छ ।
त्यसबाहेक कम्पनीले रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै आयोजनामा प्रारम्भिक कार्य भइरहेको छ । कम्पनीमा प्रभु ग्रुपअन्तर्गत प्रभु स्टिल एन्ड हाइड्रो इक्युपमेन्ट इन्डष्ट्रिज, प्रभु ऊर्जा कृषि पर्यटन लिमिटेड, हाइड्रो होल्डिङ एन्ड पावर डेभलपमेन्ट, प्रभु जलविद्युत् विकास लिमिटेडको लगानी रहेको छ ।
प्रतिक्रिया