दुर्घटनापछि हुने झन्झटिलो कानुनी प्रक्रियालाई सहजीकरणमा भलाई कोषको महत्त्वपूर्ण योगदान



बुटवल। 

बुटवलमा प्रधान कार्यालय रहेको यातायात मजदुर तथा व्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औँ साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वर्ण महोत्सवका अवसरमा स्वर्ण स्तम्भ अनावरण गरिएको छ । स्वर्ण महोत्सवको अनावरण गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले यातायात मजदुर तथा व्यवसायी भलाई कोषले ठूलो संख्यामा रहेका मजदुर र व्यवसायीको हितमा काम गर्दै आएको भन्दै प्रशंसा गरे । भलाई कोषले व्यवसायी तथा मजदुर वर्गको आर्थिक सुरक्षामा खेलेको भूमिका उच्च रहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले मजदुर र व्यवसायी समेटेपछि संस्था सबल बन्दै गएको र दुर्घटना न्यूनीकरणको अभियानमा समेत प्रभावकारी काम हुन सकेको बताए । दुर्घटनापछि हुने झन्झटिलो कानुनी प्रक्रियालाई सहजीकरण गर्न, मजदुर र व्यवसायीको आर्थिक नोक्सानीमा संस्थागत सहकार्यका माध्यमबाट कोषले आफूलाई अगाडि बढाउँदै लगेको उनले बताए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले मजदूहरुको हितको लागि भनेर स्थापना गरिएको भलाई कोषमा समयक्रमसँगै व्यवसायीलाई पनि आवद्ध गराएर संस्था बिस्तार गर्न सकिएको बताए ।  त्यसो नगरिएको भए संस्था अहिलेको अवस्थामा नआउने समेत उनले बताए ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले ब्यावसायिक हकहितका लागि निरन्तर संस्था लागेको बताउँदै समयसापेक्ष दुर्घटना न्यूनीकरण लगायत रचनात्मक कार्यक्रम समेत गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख श्याम बहादुर खत्री ,वरिष्ठ उपाध्यक्ष छविलाल थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी ज्येष्ठ चालकहरु विजय न्यौपाने, रंजित पाण्डे अनुशासित चालक अनिल शाहीलाई सम्मान गरिएको छ । यसैगरी कोषका पुर्वअध्यक्ष कुमार थापालाई अभिनन्दन, कोषमा २५ वर्ष भन्दा लामो अवधि काम गरेका कर्मचारीलाई सम्मान गरिएको छ । उत्कृष्ट पत्रकारिता पुरस्कारवाट पत्रकार मीना ढकाल र स्वस्तिक श्रेष्ठलाई सम्मान गरिएको महासचिव योग गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्