छुरा प्रहार गरी हत्या गर्ने तीन आरोपित पक्राउ



  खोटाङ।   

 नयाँ वर्षको साँझ अर्थात् वैशाख-१ गते  ३१ वर्षीय युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा खोटाङका तीन युवा पक्राउ परेका छन् । जिल्लाको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गर्ने तीन युवालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

    राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या गरेर फरार भएका सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले तीन दिनपछि सोही नगरपालिकाको १० नम्बर वडामा पर्ने पाथेकाबाट पक्राउ गरेको हो । फरार  तीनै जनालाई पाथेकास्थित भुसुन्डाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

 पक्राउ गरिएक तीनैजनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रनाउ खड्काको भनाई छ । धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बिकासको मावली घरमा पक्राउ परेका तीनै जनाले धनजितको हत्या आफूहरुले नै गरेको स्वीकार गरिसकेका छन् । घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजना युवालाई थप अनुसन्धानका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीयले बताएका छन् । छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साइँला भाइलाई साझको करिव साढे बजेको समयमा फोन सम्पर्क गरेको बताइएको छ । धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिएका छन्  । मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षणपछि आफन्तको जिम्मा लगाइएको थियो ।

 मृतक धनजित र भीमबहादुर गाउँमा सँगै घर बनाउने मिस्त्री काम गर्दै आएका थिए । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उनकी श्रीमती अप्सरा भनिने प्रेमकुमारी पौडेल (बस्नेत)समेत सामान्य घाइते भएकी छन्  ।  पटक–पटक प्रहरी हिरासतमा बसेर छुटेका उनीहरु मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, झैझगडा गर्ने, गाउँघरमा र्चोरी गर्ने  जस्ता क्रियाकलापमा सक्रिय रहेको छिमेकीहरु सुनाउँछन् ।

विकास र आसन वर्ष दिनअघि वैशाख–३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिख छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्दामा कारागार बसेर छुटेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्