लुम्बिनीका बिहारमा होटल संचालन भएको विरोधमा व्यवसायी आन्दोलित 



बुटवल ।

लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको बिहारहरुमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिँदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै लुम्बिनीका होटल व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् ।

लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक लगाउन लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत १५ गतेदेखि सुरु भएको अनिश्चितकालीन धर्ना माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय प्राङ्गणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने, लुम्बिनीमा उपलब्ध हुन सक्ने बिद्धत वर्गहरुलाई सम्मिलित गरी प्रा केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड सम्बन्धित मन्त्रालयहरुमा बुझाउने ज्ञवालीले बताए । ‘हाम्रा मागहरुमा ऐक्यवद्ध हुने अन्य संघ–संस्थाहरुलाई आन्दोलनमा सहभागी गराउँदै लैजानेछौँ । त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्नेछौँ ।

लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्