ई-टिकटले लुम्बिनीमा पर्यटकलाई सहज



बुटवल ।

लुम्बिनीको मायादेवी मन्दिर भ्रमणका लागि आउने पर्यटकहरूलाई लक्षित गरी लुम्बिनी विकास कोषले ई–टिकटको सुरुवात गरेको छ। शनिबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री हितमान तामाङले ई–टिकटको सुरुवात गर्नुभएको हो।

ई–टिकटको सुरुवातले टिकट वितरणमा हुने कुनै पनि प्रकारको अनियमिततालाई रोक्ने मन्त्री तामाङको भनाइ थियो। यो व्यवस्थाले लुम्बिनी आउने विदेशी पर्यटकलाई अझै सहज हुने उहाँले बताउनुभयो।

लुम्बिनी विकास कोषको आधिकारिक वेबसाइटमा गई टिकट काट्न सकिन्छ। नेपाली, भारतीय र अन्य मुुलुकका पर्यटकहरूका लागि अलग अलग रकम यसअघि नै कोषले तोकेको थियो।

वेबसाइटमा आफूले लुम्बिनी भ्रमणको मितिसहितको टिकट काट्नुपर्छ। यसरी काटिएको टिकटको भुक्तानी ई–सेवा, खल्ती, क्यूआर, कार्ड नम्बरलगायतबाट गर्न सकिने कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो। कोषको भुक्तानी साझेदारको रूपमा माछापुच्छ्रे बैंक रहेको छ ।

लुम्बिनी विकास कोषको आधिकारिक वेभसाइटबाट क्यामेरा, भिडियो क्यामेरा, व्यावसायिक फिल्म सुटिङ, छोटो फिल्मलगायतको पनि टिकट काट्न सकिने व्यवस्था रहेको छ।

अहिले नेपाली नागरिकको लागि मायादेवी मन्दिर दर्शनका लागि प्रतिव्यक्ति २० रुपियाँ शुल्क लाग्ने गरेको छ । भारतीय नागरिकलाई ८० रुपियाँ, सार्क राष्ट्रका नागरिकलाई ४ सय रुपियाँ र अन्य राष्ट्रका नागरिकलाई ७ सय रुपियाँ शुल्क कोषले तोकेको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले ई–टिकटको व्यवस्थाले पर्यटकलाई सहज हुनुको साथै कोषको पारदर्शिता बढाउने बताउनुभयो। उहाँले यसअघि कोषको टिकट व्यवस्थामा लाग्ने गरेको विधिन्न आरोपहरू पनि अब अन्त्य भएर जाने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्