रजत महोत्सव मनाउँदै नारी जागरण सहकारीले घोषणा गर्‍यो पाँच वर्षमा पच्चिस उद्यमी 



काभ्रे ।

२०५३ सालसम्म उग्रचण्डी नालाका सबै वडाहरूमा पुरुषहरुले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका थिए । महिला स्वंसेविकाहरु घर घर पुग्दा देखिएका कहाली लाग्दा दृश्यहरुले महिलाहरुमाथि  हुने गरेको हिंसा, विभेद, मादक पदार्थ सेवन पछिका पारिवारिक संकटलाई अन्त्य गर्न समूह गठन गर्ने योजना बन्यो ।

जागरण महिला समूहका नाममा गठन भएको उक्त संस्था अहिले नारी जागरण सहकारीका नाममा २५ वर्ष पार गर्ने अवस्थामा पुगेको छ । समूहकी संस्थापक संयोजक निर्मला श्रेष्ठले डेढ दशक भन्दा धेरै नेतृत्वमा रहेर तथा अन्य समयमा कार्य समितिका विभिन्न जिम्मेवारीमा रहेर संस्था मार्फत उक्त क्षेत्रमा महिलाहरुको सशक्तीकरणमा नेतृत्वदायी भूमिका खेलिन् । त्यही क्रममा उनी दुई पटक क्यान्सर जस्तो प्राणघातक रोगको शिकार बनिन् । तर पनि उनले संस्थाको उचाइमा कुनै कमी आउन नदिने गरी आफ्नो भूमिका सक्रियताका साथ निर्वाह गरिन् ।

 

नारी चेतना केन्द्रले संस्था स्थापना तथा संस्थाको सक्रियताका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएपछि ५ रुपैयाँ देखि २५ रुपैयाँसम्म जम्मा गर्ने गरेका महिला सदस्यहरुको हौसला थपियो । जसबाट उनीहरूले पैसा नहुँदा पनि, सामाग्री नहुँदा पनि सिप सिक्ने प्रयत्न गरे । त्यसको फलस्वरुप विभिन्न क्षेत्रबाट सहयोग उपलब्ध हुन थाल्यो । प्रौढ कक्षा, सिलाई कटाई लगायतका विविध सिपमूलक तालिमका कारण सदस्यहरुले आत्मनिर्भर हुने अवसर प्राप्त गरे । केही सदस्यहरु त्यही सिपका कारण ब्यवसायीक बन्ने अवसर पाएका छन् ।

नारी जागरण बचत तथा ऋण सहकारी संस्था उग्रचण्डी नालाले स्थापनाको २५ औ वसन्त पार गरेको छ । स्थापनाको २५ औ वसन्त पार गरेको अवसरमा संस्थाले ‘नारी जागरण साकोसको रजत महोत्सव हर्ष, २५ औँ उद्यम विकास गर्न लक्ष्यको वर्ष’ घोषणा गरेको छ । ‘संस्था स्थापना देखि हालसम्म २१ विद्यामा थुप्रै सदस्यहरुलाई उद्यमशीलताको सिप उपलब्ध गराएका छौं’ –प्रारम्भिक संस्थाका संस्थापक संयोजक निर्मला श्रेष्ठले भनिन–‘सहकारीले बचत तथा ऋण, जागरण अभियान, नेतृत्व विकास तथा सचेतना अभियानमा सफलता प्राप्त गरेको छ ।

अब उद्यमशीलता तर्फ केन्द्रित गर्न महत्वकांक्षी योजना घोषणा गरेका छौं ।’ हरेक वर्ष ५ उद्यमी तयार गर्ने उद्देश्यका साथ महत्वकांक्षी योजनालाई विभिन्न क्षेत्रको साथ र सहयोगको अपेक्षा गरिएको अध्यक्ष देवकी दाहालले बताइन् । उद्यम विकासका लागि एउटै ब्राण्डमा उद्योगहरु सञ्चालन हुनेछन् । २५ उद्यमीका एउटै नामबाट उद्योगहरु सञ्चालन हुनेछन् । फरक फरक उद्योग तथा उद्योगका विशेषताहरु अलग अलग हुन सक्ने भए पनि जागरणका नामबाट सहकारीले जागरण ल्याउन सक्छन् भन्ने सन्देश समेत प्रवाह गर्ने उद्देश्य रहेको संस्थापक अध्यक्ष निर्मला श्रेष्ठले बताइन् ।

हालसम्म संस्थाले जागरण लप्सी क्यान्डी लघु पाउँ उद्योग, सजना जागरण टेलर्स, जागरण साप्ताहिक परिवार नियोजन क्लिनिक, जागरण झोल साबुन तथा १६ वटा जागरण कृषक समूह गठन गरी तिनिहरु मार्फत विभिन्न ब्यवसायीक कार्यहरु भइरहेका छन् । हस्तकला, कुखुरापालन, तरकारी खेती, ब्यवसायीक पशुपालन लगायतका ब्यवसायीक कार्यमा सदस्यहरु सहभागि भएका छन् । ‘ब्यक्तिका दैनिक जीवनमा आवश्यक पर्ने हरेक उत्पादनलाई आयात भन्दा स्थानीय स्तरमा उत्पादन गर्न सकिने बस्तुहरुको उत्पादन गर्ने सोच बनाएको अध्यक्ष देवकी दाहालले बताइन् । ब्यवसायीक खेतिमा पनि अर्गानिक उत्पादनमा जोड दिँदै उत्पादित बस्तुहरुको बजारीकरण, भण्डारण र व्यवस्थित योजनामा सहयोग गर्न स्थानीय सरकार तथा सहकारीका छाता संघहरुलाई आव्हान गरिएको उनले बताइन् ।

सहकारीको महत्वकांक्षी योजनालाई सफल बनाउन नेफ्सकुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, नारी चेतना केन्द्र नेपालकी अध्यक्ष सिर्जना पौड्याल, बागमती प्रोप्सकुनका अध्यक्ष उद्धवप्रसाद सापकोटा, अधिबक्ता जिवना बादे, समाजेसवी मणिप्रसाद सापकोटा लगायतले प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सहकारी मार्फत ब्यक्तिहरुलाई समृद्ध बनाउन उद्यमशीलता महत्त्वपूर्ण भएकाले आफ्नो क्षेत्रबाट उक्त योजना सफल बनाउन सकारात्मक सहयोग हुने उनीहरूले बताए । सहकारीले स्थापना दिवसको अवसर पारेर नेफ्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित सहकारीमा हालसम्म विभिन्न जिम्मेवारीमा रहेर कार्य गर्न संचालकहरुलाई सम्मान गरेको थियो । जागरण र।जत महोत्सव नामक स्मारिका पनि सोही अवसरमा विमोचन गरिएको छ । उक्त संस्थामा १ हजार ५ सय १८ जना शेयर सदस्य छन् भने ९ सय १८ जना बाल सदस्य छन् ।

संस्थामा उपाध्यक्ष सिता दाहाल, सचिव इन्द्रमाया श्रेष्ठ, कोषाध्यक्ष गंगादेवी श्रेष्ठ, लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक सुभद्रा अधिकारी लगायतका सञ्चालक छन् । व्यवस्थापक शर्मिला दाहालले सहकारीले सदस्यहरुलाई केन्द्रित कार्यक्रमहरु आयोजना गरी आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । कार्यक्रम सञ्चालक सदस्य कल्पना श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्