विपन्न बिरामीको निःशुल्क उपचार



दोलखा।

 दोलखा सदरमुकाम चरिकोटमा निजी लगानीमा सञ्चालन भएको च्छो– रोल्पा जनरल अस्पतालले लडेर दुबैहात फ्याक्चर भएको एक विपन्न युवाको निःशुल्क उपचार गरिदिएको छ ।

छिमेकीको घरबाट लडेर दुबै हात फ्याक्चर भएको भीमेश्वर नगरपालिका वडा नम्बर– ४ का १४ वर्षीय  बिक्रम भण्डारीको च्छो– रोल्पा जनरल अस्पतालले निःशुल्क अप्रेसन गरिदिएको हो । लडेर दुबैहात नचल्ने भएपछि चरिकोटकै एक स्वास्थ्य केन्द्र पुगेका बिक्रमलाई शल्यक्रियाको लागि काठमाडौँ रिफर गरिएको थियो । उनका बुबाले निःशुल्क उपचार हुने आशमा बिक्रमलाई बनेपाको एक अस्पताल लगेका थिए । तर, उक्त अस्पतालमा ठूलै रकम तिर्नुपर्ने भएपछि विरामीलाई चरिकोटनै फर्काइएको र च्छो– रोल्पा जनरल अस्पतालले निःशुल्क उपचार गरिदिएको बिरामीको आमा कविता भण्डारीले बताइन् ।

विक्रमको उपचार जटिल र खर्चालु भएपनि उनको पारिवारिक अवस्था नाजुक रहेकोले अस्पतालले वैशाख १२ गते निःशुल्क सल्यक्रिया गरिदिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले बताए।

चरिकोटकै कुनै अस्पतालले शल्यक्रियाका लागि काठमाडौँ रिफर गरेपछि विरामी सुरुमा च्छो– रोल्पा जनरल अस्पतालमै आएका थिए अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले भने– हामीले प्राथमिक उपचार पछि फलोअपको लागि बोलाएकोमा उहाँहरु काठमाडौँ जानु भएको रहेछ ।
काठमाडौँमा धेरै शुल्क लाग्ने भएपछि आर्थिक अभावले उपचार नै नगरी घर फर्किएको थाहा पाएर हामीले अस्पतालमा उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो– डा. दंगालले भने ।

विरामीलाई आवश्यक औषधिको लागि भीमेश्वर नगरपालिकामा अनुरोध गरेपछि थोरै रकम दिने आश्वासन पाएको र स्थानीय केही व्यक्तिले समेत सहयोग गरेकोले त्यो रकमबाट औषधि किनेको  विक्रमको आमा कविता भण्डारीले बताइन् । च्छो–रोल्पा अस्पतालले निःशुल्क शल्यक्रिया सहितको सेवा दिएर आफ्नो परिवारलाई गुण लगाएको उनको भनाई छ ।

बिरामीको बाबुले आर्थिक अवस्था नाजुक भएकोले उपचारमा समस्या रहेको भनेपछि हामीले बिरामीको निःशुल्क अप्रेसन गरिदिएका हौ– अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले भने । डा. दंगालका अनुसार बिरामीको जटिल शल्यक्रिया गर्न करिब डेढ लाख खर्च लाग्ने थियो ।  डाक्टर दंगाल आर्थिक अभावकै कारण कोही उपचारबाट वञ्चित हुन नपरोस् भनेर शल्यक्रिया नरोकेको बत्ताउँछन् ।

प्रतिक्रिया दिनुहोस्