बेडै नभएको १५ शय्याको आयुर्वेद अस्पताल

संरचना र श्राेतसाधन नभएकाेले बिरामी भर्ना गरेर उपचार गर्न नपाएकाे प्रमुख डा. दाहालको भनाइ



धादिङ। 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकाे १५ शय्याको अस्पताल स्वीकृति छ । तर बेड छैन । वहिरंग उपचार सेवा संचालनमा छ । एकजना बिरामी भर्ना गर्न सकिने अवस्थामा कुनैपनि संरचना र श्राेत साधन नभएकाेले अस्पताल भएरपनि भर्ना गरेर उपचार गर्न नपाएकाे कार्यालय प्रमुख डा. अमूल्य दहालले बताए ।

आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले जिल्लाका पत्रकारहरुसंग आयुर्वेद सेवा प्रवर्द्धन गर्न अन्तरक्रिया  कार्यक्रम आयाेजना गरी  सेवा प्रवाहका बारेमा जानकारी दिएकाे छ ।

कार्यक्रममा आयुर्वेद सेवातर्फ सेवाग्राहीकाे अार्षण बढेको र धादिङमा दैनिक ८० भन्दा बढीले  सेवा लिने गरेकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अमूल्य दहालले बताए ।

आयुर्वेद सेवामा उपचारात्मक र प्रवर्धनात्मक सेवा संचालन गरिएकाे बताउँदै डा. दहालले १५ शय्याको अस्पताल भनिए पनि एकजना पनि भर्ना गरेर राख्न मिल्ने अवस्था नभएकाे बताए ।

धादिङमा आयुर्वेद वहिरंग सेवा ४ हजार ३९६ जना, ज्येष्ठ नागरिक १ हजार १११ जना, स्तनपायी आमा  ८६ जना, पुर्वकर्म/ पंचकर्म २ हजार ६३६ जना, प्याथोलोजी ल्याव ७ सय ३७ जना, अकुपन्चर सेवा ८ सय ५ जना, फिजियोथेरापी सेवा ८ सय १ जना, नागरिक आरोग्य सेवा केन्द्र ३ हजार ७५७ जना गरि  १४ हजार ३ सय ९२ जनाले  ६ महिनाकाे अवधिमा सेवा लिएको तथ्यांक सार्वजनिक गरिएकाे छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको व्यवस्थापन समिति अध्यक्ष भरत ढुंगानाकाे अध्यक्षतामा सम्पन्न अन्तरक्रिया  कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीकाे प्रमुख आतिथ्यमा भएकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै ढुंगानाले माैलिक चिकित्सा प्रणाली आयुर्वेद भएकाेले प्रचारप्रसार गर्न संचारकर्मीहरुलाई आग्रह गरे । सरकारले व्यवस्थापन समिति  गठन गरेर काम गर्न नदिएकाे भन्दै हातखुट्टा बाँधेर काममा पठाएकाे उनले आरोप लगाए । आफ्नो कार्यकालमा आयुर्वेद भवन बनाउन प्रक्रिया अघि बढेको ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्