लुम्बिनी अस्पताललाई विदेशीहरुले उपचार गर्न आउने थलोको रुपमा विकास गरिँदै : मन्त्री खनाल 



बुटवल।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा विकास गरिने बताए । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उनले निर्माण कम्पनीबाट प्रतिबद्धता अनुसारको काम हुनेमा विश्वास व्यक्त गरे ।

अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजना अनुसार अगाडि बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको उल्लेख गरे । ‘हाम्रा आवश्यकताहरू धेरै छन्, यसको गुणस्तर वृद्धि गरेर जान सकेनौँ, जनशक्ति र उपकरण दिन सक्दैनौँ भने जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन सक्दैनौँ ।’–मन्त्री खनालले भने ।

अस्पताललाई साधन स्रोत र उपकरणको कमी हुन नदिने प्रतिबद्धता गर्दै मन्त्री खनालले नेपाली मात्र नभई विदेशीहरु समेत उपचार गर्न आउने थलोको रुपमा अस्पताललाई विकास गरिनु पर्नेमा जोड दिए । मन्त्री खनालले अस्पतालमा क्याथल्यावको समेत उद्घघाटन गरे ।  लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सुदर्शन बरालले अस्पतालको बिकासका लागि आफ्नो पालामै गुरुयोजना तयार भएर काम अघि बढेको बताउँदै विगतका प्रतिबद्धता सरकारले पालना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका महान्यायाधिवक्ता बुद्धबहादुर थापा, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतले अस्पतालमा बन्ने १० तले नयाँ भवनको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्