गठबन्धनको संस्थापनइतर समूह सरकारसँग सधैं असन्तुष्ट

336
Shares

काठमाडौं ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मुख्य सहयोगमा बनेको आठ दलीय गठबन्धन सरकारप्रति स्वयं सत्ता गठबन्धकै संस्थापनइतर समूह सधैँ असन्तुिष्टमै अलमलिएको छ।

गत आम निर्वाचनअघि नै चुनावी गठबन्धन गर्न नहुने एजेन्डा बोकेको कांग्रेस संस्थापनइतर समूहसँगै पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को संस्थापनइतर समूहसमेत सरकारप्रति असन्तुष्ट बनेको छ।

कांग्रेसको एउटा समूह माओवादी वा अरू कसैसँग चुनावी तालमेल गर्न नहुने विचारमा अडिग छ। सोही आधारमा गत सोमबारबाट चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धनको विपक्षमा सांगठनिक प्रस्ताव नै पेस गरेर उक्त विषयमा बहस चलाउनुभएको छ।

कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदनको विपक्षमा बलियो मत देखिएको छ। महामन्त्री थापा आगामी कुनै पनि निर्वाचन आफ्नै बलमा भिड्ने एजेन्डा पारित गरेर जाने अडानमा हुनुहुन्छ। तर, उहाँको प्रस्तावले वर्तमान गठबन्धन नै संकटमा पर्न सक्ने भन्दै अधिकांश महासमिति सदस्यहरूले विपक्षमा विचार राख्दै आएका छन् ।

उता, कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार पूर्ण असफल भएको टिप्पणी प्रत्येक दिन दोहोर्‍याउँदै आउनुभएको छ भने गठबन्धन सरकारमा कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको भन्दै कांग्रेसकै अधिकांश नेताहरूले सरकारका मन्त्रीप्रति आक्रोशित छन्।

कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले गठबन्धन संस्कृति र वर्तमान सरकारको चर्को आलोचना गरिरहेकै अवस्थामा अर्को सत्ता सहयात्री दल नेकपा एसका सम्मानित नेता झलनाथ खनालले समेत गठबन्धन सरकारका कामकारबाहीका विषयमा टिप्पणी गर्नुभएको छ।

केही समययता उहाँले निरन्तर गठबन्धनकै विरुद्धमा अभिव्यक्ति दिँदै आउनुभएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए। खास गरी आम निर्वाचनमा इलामबाट गठबन्धनको साझा उम्मेदवार बनेका खनालले पराजय भएपछि गठबन्धनप्रति आक्रोस पोख्दै आउनुभएको थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बुधबार गठबन्धन सरकारप्रति पार्टीभित्र बृहत् असन्तुष्टि रहेको बताउनुभयो। आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गर्दै उहाँले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसक्दा मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको टिप्पणी गर्दै नेता खनालले भन्नुभयो– ‘देशले नयाँ कोर्सको माग गरिरहेको छ। आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचार र नीतिका साथमा कार्यक्रम, बजेट र योजना ल्याउँदै सरकार नयाँ ढंगले अघि बढ्नुपर्छ। सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन। यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो बृहत् असन्तुष्टि छ ।’

सरकारको अर्काे साझेदार दल सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको घोषणा गरिसकेको छ। सरकार पक्षबाटै सत्ता र गठबन्धनको विपक्षमा नेताहरूले अभिव्यक्ति दिइरहँदा सत्ताधारी दलका संस्थापन समूहका नेताहरूले भने सरकारको खिलापमा आएका टिप्पणीप्रति मौन रहँदै वर्तमान सरकारले अहिलेसम्मकै राम्रो काम गरेको दाबी गर्दै आएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्था सुधार हुँदै गएको, सुशासन र विकासका काम भइरहेको, भ्रष्टाचारका फाइलहरू धमाधम खोलिएको लगायत प्रगतिको लामो सूची नै पेस गर्नुभएको छ ।