नेकपा एसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बम एमालेमै फर्किए



कैलाली ।

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खडक बम एमालेमै फर्किएका छन्।

बम आइतबार सुखडमा आयोजना गरिएको एमाले कैलाली जिल्लाको नवौँ अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा र अबिर लगाई एमाले प्रवेश गरेका हुन्।

एमालेबाट फुटेर अर्को पार्टी बनाउने र कांग्रेसको सेवा गर्ने कामले मुलुक र जनताको हित नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नबन्ने ठहरसहित एमालेमै फर्किएको बमले बताए।

बम गौरीगङ्गा क्षेत्रमा प्रभाव राख्ने नेता हुन्। प्रदेश कमिटी सदस्य बमको नेतृत्वमा जिल्लाका पदाधिकारी र सदस्यहरू पनि एमाले प्रवेश गरेका छन्। प्रवेश गर्नेमा कैलालीका पदाधिकारीमा उपसचिव बखतबहादार विष्ट पनि छन्।

बम र विष्टको नेतृत्वमा सो क्षेत्रका प्रभावशाली सबै नेता कार्यकर्ता एमाले फर्किएका हुन्। नेता बमले अव माधव नेपाल र सुदूरपश्चिममा रहेका कुनै पनि नेताको भ्रममा नपरी एमाले फर्कन सबै नेता कार्यकर्तालाई अपिलसमेत गरे।

‘अब पनि माधव कमरेडको भ्रममा बसियो भने आफ्नो भविष्य बरबाद त हुन्छ नै, देश र जनतामाथि पनि जानाजानी घात गरेको ठहर्छ, त्यस कारण नेकपा एकीकृत समाजवादीमा रहेका सबै नेता कार्यकर्ता साथीहरू एमालेमै फर्कनुपर्छ,’ बमले भने।

प्रतिक्रिया दिनुहोस्